२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

टी २० विश्वकप छनोटमा नेपालको शानदार शुरूवात: कुवैतलाई ५८ रनले हरायो

दोहा, नेपाल र कुवेतबीच आज ८ अक्टोबर २०२५ (२०८२ असोज २२) मा भएको आईसीसी टी-२० विश्वकप छनोट खेलमा नेपाली क्रिकेट टोलीले ५८ रनले प्रभावशाली जित हासिल गरेको छ। अल अमेरत स्टेडियम, ओमानमा सम्पन्न यस खेलमा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो भने कुवेत १८.१ ओभरमा मात्र ८३ रनमा सिमित भएको थियो।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो। सुरुवाती संघर्षपूर्ण अवस्थामा पनि कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतले ६६ रन बनाउँदै टोलीलाई सुरक्षित स्थानमा पुर्याएका थिए भने गुल्सन झाले मात्र ६ बलमा ३ छक्काको मद्दतले २० रनको बिस्फोटक ब्याटिङ प्रदर्शन गरेका थिए।

लक्ष्य रक्षा गर्दै नेपाली बलरहरूले सामूहिक रूपमा शानदार प्रदर्शन गरे। ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले २-२ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेल ले १-१ विकेट लिएर कुवेतको ब्याटिङ लाइनअपलाई कमजोर बनाए।

यो जितसँगै, नेपालले समूह ‘बी’ मा आफ्नो स्थितिलाई मजबुत बनाएको छ। टोलीले शुक्रबार, १० अक्टोबर मा जापानविरुद्ध आफ्नो दोस्रो खेल खेल्नेछ। समूहका शीर्ष दुई टोलीले अर्को चरण (सुपर सिक्स) मा प्रवेश गर्नेछन्।

यो जित नेपाली टोलीको लागि विश्वकप छनोट अभियानको सुरुवातको रूपमा राम्रो सन्देश लिएर आएको छ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस