
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको चर्चा र अपेक्षा यस वर्षको एनआरएनए डे अर्थात ११ अक्टोबरमा उच्च थियो। तर आजसम्म त्यो एकता साकार हुन सकेको छैन।
एनआरएनए आईसीसी संस्थापन पक्षका अध्यक्षले एक कार्यक्रममा बताए अनुसार, अर्को पक्ष महेश श्रेष्ठ नेतृत्वको समूहले दुई दिन समय माग गरेको छ। यसले एकताको सम्भावना बाँकी रहेको संकेत त दिन्छ, तर चिन्ता भने कायमै छ।
आईसीसी विवाद र बिभाजनको कारण एनसीसी कतारबाट अलग्गिएर अर्को समितीका अध्यक्ष बनेका कृष्ण पन्थीले सामाजिक सन्जाल फेसबुकमा लेख्छन “छुछुन्द्राले ‘छु छु छी छी’ गर्दै कथा बिगारेझै भयो त! हिजो राति नेपाली समय अनुसार १२ बजेसम्म सब ठिकठाक थियो, तर आज के हो फेरी हे फुलनदेवी?”
त्यसैगरी नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमारले व्यंग्यात्मक शैलीमा कटाक्ष गर्दै लेख्छन्, “साझा संस्थाको अभियन्ताका नाममा देखिएका झुण्डहरूले एकअर्काको मुखै हेर्दिन भन्दै टुक्राएको एनआरएनए अब फर्केर मुख मात्र होइन हात र गला मिलाएर मिल्नुपर्ने अवस्था आउँदैछ। ती लाज सरम पचेकाहरु अब एउटै गोलबन्द टेबलमा बसेर कसरी सहकार्य गर्दैछन्। त्यो हेर्नलाई आतुर छु।”
एकताको प्रस्तावित सूत्र अनुसारः
महेश कुमार श्रेष्ठ एनआरएनएको दसौं अध्यक्ष, बद्री केसी एघारौं अध्यक्ष हुने। श्रेष्ठको नेतृत्वमा रहेको समिती स्वतः विघटन हुने र बद्री केसीको समिती एघारौं समिती बन्ने।
दुबै समूहबाट सदस्य राखेर बढीमा ५ सदस्यीय स्वतन्त्र निर्वाचन समिति गठन गरी १२ औं सम्मेलन आयोजना गरिने। त्यस सम्मेलनबाट एकतावद्ध नयाँ आईसीसी समिती चयन गरिने, त्यसको लागि केही समयको लागि एमआईएस प्रणाली खोलेर महेश श्रेष्ठ पक्षका सदस्यहरुलाई सदस्यता लिन अवसर दिने भन्ने सहमतिका प्रस्तावमाथी छलफल भएको सुत्रले बताएको छ।
सूत्रका अनुसार यो मुख्य प्रस्तावमा दुबै अध्यक्ष सहमत छन्। तर, केही तत्वहरूले अझै राजनितीक स्वार्थ अघि बढाउने प्रयास गरिरहेको बताइएको छ।
यसरी, एनआरएनए एकताको प्रक्रिया ढिलाइमा रहँदा प्रवासी नेपाली समुदायमा अपेक्षा र चिन्ताको मिश्रित अवस्था कायमै छ।