दोहा । राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन (Second World Summit for Social Development) का पूर्ण बैठकहरूमा सम्बोधन गरेका छन्।
दोहास्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार, राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा नेपालको अटूट प्रतिबद्धता सामाजिक न्याय, समावेशिता र दिगो विकासको पक्षमा रहेको बताउँदै, सन् १९९५ को कोपनहेगन घोषणापत्र र एजेन्डा २०३० अनुसार अगाडि बढ्ने प्रतिवद्धता दोहोर्याए।
विज्ञप्तिमा भनिएको छ कि राष्ट्रपति पौडेलले दोहा घोषणापत्रको प्रभावकारी कार्यान्वयन, गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा पहुँच, र महिला तथा युवाहरूको सशक्तीकरणमा जोड दिएका थिए। उनले समावेशिता र साझा समृद्धिलाई शान्ति, मानव मर्यादा र स्थायी विकासको आधार बताउँदै सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।
त्यस अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न, स्रोतमा समान पहुँच सुनिश्चित गर्न, र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनद्वारा न्यायपूर्ण, समावेशी र दिगो विकास प्राप्त गर्न आग्रह गरेका थिए।
विज्ञप्तिमा जनाइए अनुसार, राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका तीन आधार स्तम्भहरू सुदृढ पार्दै: गरिबी अन्त्य, सबैका लागि उत्पादक रोजगारी र सामाजिक समावेश’ भन्ने विषयमा भएको उच्चस्तरीय गोलमेच–१ (High-level Roundtable) मा पनि सहभागिता जनाएका थिए।
सो क्रममा उनले सुशासन, उत्तरदायी संस्था र पारदर्शी सार्वजनिक सेवा वितरणको माध्यमबाट लोकतान्त्रिक र समावेशी नीतिहरू सुदृढ गर्दै मानवकेन्द्रित सामाजिक विकासमा जोड दिएका थिए।
सम्मेलनकै क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका थिए। सो अवसरमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्य सुदृढीकरणका विषयमा छलफल भएको पनि दूतावासले जनाएको छ।
यसका साथै राष्ट्रपति पौडेलले कतारका अमिरद्वारा आयोजना गरिएको राज्य भोज (State Banquet) मा पनि सहभागिता जनाएका थिए, जहाँ भ्रमणमा रहेका विभिन्न राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको सम्मानमा भोज आयोजना गरिएको थियो।
दूतावासका अनुसार, राष्ट्रपति पौडेल नोभेम्बर ६ (कात्तिक २०) की बिहान नेपाल फर्कने कार्यक्रम रहेको छ।

