दोहा। कतारस्थित नेपाली दूतावासले हालै जारी गरेको सूचनापछि समुदायभित्र विभिन्न टिप्पणी र बहसहरू सुरु भएका छन्। सामाजिक सञ्जाललगायतका माध्यममा आलोचनात्मक प्रतिक्रिया आइरहेका बेला दूतावासले गरेको कदम कतारका स्थानीय कानुन, सुरक्षात्मक मापदण्ड र कूटनीतिक जिम्मेवारीसँग सम्बन्धित रहेको बुझिन्छ।
दूतावासले सेवाग्राहीहरूलाई “कार्यालय समयभन्दा धेरै पहिलादेखि दूतावास वरिपरि भीड नगर्न” आग्रह गरेको सूचना प्रकाशित गरेको थियो। कतिपयले यसलाई सेवाग्राहीमाथिको नियन्त्रणका रूपमा व्याख्या गरे पनि, वास्तविकता भने कतारको आवासीय क्षेत्रका नियम र सार्वजनिक शान्तिसँग जोडिएको देखिन्छ।
हाल दूतावास रहेको अबु हमुर (Abu Hamour) क्षेत्र हाल आवासीय क्षेत्रको रूपमा विकसित भइसकेको छ, जहाँ कतारी नागरिक र अन्य विदेशी बासिन्दाको बाक्लो बसोबास छ। बिहान सबेरैदेखि दूतावास बाहिर सेवाग्राहीहरूको भीड, सवारी पार्किङको समस्या र कतिपय अवैध ट्याक्सीहरूको जमघटले त्यहाँका स्थानीय मापदण्ड प्रभावित भएको भन्दै गुनासोहरू आउने क्रम बढेकोले दूतावासले सूचना जारी गरी नागरिकलाई सचेत गराएको बुझ्न कठिन छैन।
कतारको पब्लिक तथा ट्राफिक कानुन अनुसार आवासीय क्षेत्रमा अत्यधिक भीड, सवारी अव्यवस्था, वा सार्वजनिक अवरोध सिर्जना गर्नु गैरकानुनी मानिन्छ। यस्ता कानुनी मापदण्डको सम्मानका लागि दूतावासले उक्त सूचना जारी गरेको स्पष्ट हुन्छ।
अन्तर्राष्ट्रिय सन्धि भियना कन्भेन्सन, डिप्लोमेटिक रिलेसन १९६१ को धारा ४१(१) अनुसार पनि दूतावास र कूटनीतिज्ञहरूले आफू बसेको देशका कानून र नियमको सम्मान गर्नुपर्ने स्पष्ट उल्लेख छ।
कतारमा दूतावास क्षेत्रहरूलाई उच्च सुरक्षा क्षेत्रका रूपमा वर्गीकृत गरिएका कारण त्यहाँ अनधिकृत भीडभाड, फोटो/भिडियो खिच्ने कार्य वा सवारी अवरोध सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ।
दूतावासको स्थानान्तरण कुनै साधारण प्रशासनिक प्रक्रिया होइन। नयाँ भवनको पहिचान, कतार तथा नेपाल सरकारको अनुमति, कूटनीतिक पूर्वाधारको पुनःस्थापना, र लागतसम्बन्धी जटिलता जस्ता विषयहरूका कारण दूतावास स्थानान्तरण तुरुन्त सम्भव हुँदैन।
त्यसैले हालको अवस्थालाई व्यवस्थापनमै सुधार ल्याउँदै स्थानीय कानुन र समुदायबीच सन्तुलन कायम गर्नु व्यवहारिक विकल्पका रूपमा दूतावासले लिएको बुझिन्छ।
दूतावासले समुदायका संघ–संस्था र अगुवाहरूसँग सहकार्य गरी सेवाग्राही व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरेको भन्ने अर्थमा बुझेर नकारात्मक टिकाटिप्पणी भन्दा सहयोग र सहकार्य आवस्यक छ। दूतावास स्रोतका अनुसार, उक्त सूचना सेवाग्राहीमाथिको नियन्त्रण होइन, बरु “स्थानीय कानुन, सुरक्षात्मक मापदण्ड र दूतावासको मर्यादा जोगाउन गरिएको अनुरोध” हो।
कतारमा रहेका नेपालीहरूले दूतावासको उक्त सूचनालाई नकारात्मक दृष्टिले होइन, व्यवस्थापन र अनुशासनका दृष्टिले लिनु आवश्यक छ।
दूतावास र समुदायबीच आपसी समझदारी र सहकार्य नै दीर्घकालीन समाधानका रूपमा देखिन्छ।