२०८२ पुष २ गते बुधवार | 2025 December 17th Wednesday

एनसीसीको एकताबिनाको आईसीसी एकता अर्थहीन हुन्छ : रमेश भट्ट

 

दोहा, कतार — गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारका पूर्व अध्यक्ष रमेश भट्टले एनसीसीको एकताबिनाको आईसीसीको एकता सार्थक नहुने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले उक्त विचार आफ्नो फेसबुक पेजमार्फत व्यक्त गरेका हुन्।

फेसबुकमा लेखिएको टिप्पणीमा भट्टले एनआरएनए विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै साझा मञ्चमा संगठित गर्ने उद्देश्यले स्थापना भएको संस्था भएको उल्लेख गरेका छन्। संघको संगठनात्मक संरचना प्रतिनिधिमूलक प्रणालीमा आधारित रहेको जनाउँदै उनले एनसीसी र आईसीसीबीचको सम्बन्ध परस्पर निर्भर र संवेदनशील रहेको बताएका छन्।

उनका अनुसार एनआरएनएको वास्तविक शक्ति र आधार एनसीसीहरू हुन्। सदस्यता वितरण, स्थानीय कार्यक्रम, सामाजिक तथा संस्थागत गतिविधिहरू एनसीसीकै माध्यमबाट सञ्चालन हुने भएकाले एनसीसी कमजोर हुँदा संस्था केवल औपचारिक संरचनामा सीमित हुने खतरा रहेको उनले औंल्याएका छन्।

आईसीसीलाई एनसीसीहरूको सामूहिक प्रतिनिधि निकायको रूपमा व्याख्या गर्दै भट्टले नेपाल सरकारसँगको संवाद, नीतिगत पहल, लगानी, नागरिकता र प्रवासी अधिकारका विषयमा आईसीसीले भूमिका खेल्ने भए पनि त्यसको वैधानिकता र प्रभावकारिता एनसीसीहरूको विश्वास र एकतामा निर्भर रहने बताएका छन्।

पछिल्ला वर्षहरूमा विभिन्न देशमा एनसीसी तहमा देखिएको विभाजनले एनआरएनएलाई गम्भीर चुनौतीमा पारेको उल्लेख गर्दै उनले एउटै देशमा एकभन्दा बढी एनसीसी दाबी हुनु र आन्तरिक विवाद लम्बिनुले आईसीसीको विश्वसनीयतामा प्रत्यक्ष असर परेको बताएका छन्।

“संस्था भनेको भवनजस्तै हो, आधार कमजोर भए संरचना टिक्दैन,” भन्दै उनले माथिल्लो तहमा देखिने औपचारिक एकता तल्लो तहमा अनुभूत नभएसम्म दिगो नहुने तर्क प्रस्तुत गरेका छन्।

एनआरएनएलाई एकताबद्ध, प्रभावकारी र विश्वसनीय बनाउन प्रत्येक देशमा समावेशी, पारदर्शी र वैधानिक एक मात्र एनसीसी आवश्यक रहेको उनको जोड छ। अन्त्यमा भट्टले एनसीसीबाट सुरु हुने एकतामै एनआरएनएको भविष्य र गरिमा निर्भर रहने स्पष्ट पारेका छन्।

 

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस