२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबीच राष्ट्रिय परिचयपत्र प्रणाली प्रयोगसम्बन्धी समझदारी

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग (DoNIDDR) र सामाजिक सुरक्षा कोषबीच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NID MIS) का विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धमा समझदारी–पत्रमा हस्ताक्षर भएको छ। समझदारी–पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक नमराज घिमिरेले हस्ताक्षर गर्नुभएको छ।

समझदारीअनुसार अव सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बर जारी गर्ने, विवरण अद्यावधिक गर्ने तथा सेवा प्रवाह गर्नुअघि लाभग्राहीको पहिचान प्रमाणीकरण गर्दा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत उपलब्ध हुने विद्युतीय सेवाहरू प्रयोग गर्न सक्नेछ।

समझदारी–पत्रमा राष्ट्रिय परिचय नम्बर (NIN) का आधारमा नागरिकको नाम, जन्ममिति, ठेगानालगायत जनसांख्यिक विवरण प्रमाणीकरण गर्ने, नागरिकको तथ्याङ्क उपलब्ध गराउने तथा  जैविक विवरणको प्रमाणीकरण गर्ने सेवाहरू उपलब्ध गराइने उल्लेख छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार जैविक विवरणलाई प्रणालीमा रहेको तथ्याङ्कसँग भिडान गरी नागरिकको पहिचान एकिन गरिनेछ।

समझदारीमा विदेशमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि आवेदन तथा विवरण संकलनको प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समेत संलग्न गराई कोषमा सूचीकरण गर्न समन्वय गरिने व्यवस्था गरिएको छ। साथै, डेटा सुरक्षा, प्रणाली पहुँच, प्रमाणीकरण तथा प्राविधिक सहयोगसम्बन्धी प्रावधानहरू पनि समेटिएका छन्।

समझदारी–पत्र हस्ताक्षर भएको मितिदेखि लागू हुने र आपसी सहमतिमा परिमार्जन गर्न सकिने पनि जनाइएको छ।

 

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस