२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

तेह्रथुम सेवा समाज कतारको २१औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

दोहा, कतार l तेह्रथुम सेवा समाज कतारको आयोजनामा २१औं बार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम समाजका अध्यक्ष महेन्द्र प्रसाद उप्रेतीको सभापतित्वमा तथा कोशी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

 

कार्यक्रममा दोहामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय तथा बाक्लो उपस्थिति रहेको थियो। सामाजिक एकता, सांस्कृतिक संरक्षण र आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम दर्शकहरूको उल्लेखनीय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

 

कार्यक्रममा गायिक/गायका लक्ष्मी कार्की, सुस्मिता भट्टराई, एलिसा राई, कमल दर्नाल, रामकृष्ण परियार र सुस्मिता परियारले सुमधुर गीत प्रस्तुत गर्दै माहोललाई संगीतमय बनाएका थिए। त्यस्तै बिनिता राजवंशी, खड्ग बस्नेत र किरण राजवंशीले आकर्षक नृत्य प्रस्तुत गरी दर्शकको मन जितेका थिए। साथै सल बहादुर श्रेष्ठले क्यारिकेचरमार्फत उपस्थित सबैलाई हँसाउँदै कार्यक्रमलाई थप रोचक बनाएका थिए। कार्यक्रममा रेजिना भट्टराईले वाचन गरेको कविता भावुक र प्रभावशाली बनेको थियो।

 

कार्यक्रमकै अवसरमा भर्खरै सम्पन्न कोशी प्रदेश समन्वय परिषद कतारको नव निर्वाचित कार्यसमितिलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो। साथै संस्थाका सल्लाहकार, पूर्व अध्यक्ष तथा समाजको गतिविधिमा निरन्तर सहयोग पुर्‍याउँदै आएका सामाजिक अभियन्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। समाजअन्तर्गत क्रियाशील विभिन्न जिल्ला तथा समूहहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी समाजका विभिन्न कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सामाजिक अभियन्ता, कलाकार तथा नौमती बाजा टिमका सम्पूर्ण सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यसम्म नौमती बाजा तथा कलाकारहरूको प्रस्तुतीले सहभागीहरूलाई नचाइरहेको थियो।

कार्यक्रमको अन्त्यमा भाग्यशाली चिठ्ठासमेत सार्वजनिक गरिएको थियो। प्रमुख अतिथि रुद्र शर्मा आचार्यले मन्तव्यका क्रममा यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै तेह्रथुम सेवा समाज कतारले मातृभूमि तेह्रथुममा समेत सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाली समुदायलाई एकताबद्ध गर्दै अझ सक्रिय रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्षले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, समाजसेवी तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका गतिविधिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सहजीकरण लोक जोगीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस