यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम मात्र होइन, कहिलेकाहीँ समाजका अनेकौँ पाटाहरु नियाल्ने, मानिसका सोच, व्यवहार र जीवनशैली बुझ्ने अवसर पनि बन्ने गर्छ। केही यात्रा गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनभित्र गहिरा प्रश्न र अनुभूतिहरु छोडेर जान्छन्।
केही दिनअघि म र मेरो भान्जा दुलेगौंडाबाट गोरखातर्फ जाँदै थियौँ। रातको करिब साढे आठ बजेको थियो। तनहुँको घाँसीकुवा स्थित एक हाईवे रेस्टुरेन्टमा केही आवश्यक सामान किन्न हामीले कार रोक्यौँ। त्यही समयमा यात्रुबाहक बसहरू पनि खाना र खाजाका लागि त्यहाँ रोकिएका थिए। वातावरणमा यात्राको थकान र विश्रामको मिश्रित अनुभूति थियो।
सामान किनेर पुनः यात्रामा निस्कने तयारी गर्दै गर्दा दुई युवती, साथमा दुई साना बालबालिका लिएर हाम्रो कार नजिक आइपुगे। उनीहरूले सहज रूपमा सोधे, “ट्याक्सी हो? हामीलाई डुम्रेसम्म लैजानुहुन्छ?”
इन्धनको मूल्य आकासिएको वर्तमान अवस्थामा हामीले ५०० रुपैयाँ भाडा लाग्ने बतायौँ। उनीहरू तुरुन्तै सहमत भए र हाम्रो कारमा चढे।
यात्रा अगाडि बढ्दै जाँदा सामान्य चिनजान र कुराकानी सुरु भयो। दुवै दिदीबहिनी रहेछन्। एक जनाका श्रीमान् दक्षिण कोरियामा र अर्कीका श्रीमान् दुबईमा कार्यरत रहेछन्। दिदीका दुई सन्तान थिए भने बहिनीको विवाह भएको धेरै समय भएको रहेनछ।
कुराकानीकै क्रममा उनीहरूको यात्रा उद्देश्य सुनेर हामी केहीबेर अचम्ममा पर्यौँ। उनीहरू नवलपरासीबाट दमौलीसम्म सामाजिक सञ्जालमा भाइरल बनेको चटपट खान आएका रहेछन्। आफ्नै अनुभव सुनाउँदै उनीहरू हाँस्दै भने, “सय–दुई सय रुपैयाँको चटपट खान आउँदा झण्डै पाँच हजार रुपैयाँ खर्च भइसक्यो।”
उनीहरूको अनुहारमा रमाइलो, उत्साह र सन्तुष्टि स्पष्ट देखिन्थ्यो। पहिलो दृष्टिमा यो सामान्य घुमघाम र मनोरञ्जनको कथा जस्तो लाग्थ्यो। तर त्यो कथाभित्र हाम्रो समाजको अर्को यथार्थ पनि लुकेको थियो।
हामीले हल्का ठट्टाको शैलीमा भन्यौँ, “बहिनीहरूका श्रीमान् त या त धेरै धनी होलान्, या धेरै सोझा।”
उनीहरू फेरि हाँस्दै बोले, “मेरा श्रीमान् कोरियामा छन्, अनि उसका चाहिँ दुबईमा। बुढाहरूको कमाइमा रमाउनु त पर्यो नि मौकामा!”
हामीले फेरि सोध्यौँ, “उहाँहरूलाई थाहा भयो भने रिसाउनुहुन्न?”
उनीहरूको जवाफ थियो, “थाहा भए पो! थाहा पाए त कराउनुहुन्छ नि।”
त्यसैबेला उनीहरूसँग रहेको एक सानो बालकले सहज र निष्कपट शैलीमा भन्यो,
“बाबाले ममीलाई गाली गरे भने त मैले बाबालाई कुट्दिन्छु।”
त्यो वाक्य सुनेर कारभित्र सबै हाँस्यौँ। बालकको बोलीमा बालसुलभ निर्दोषता थियो। तर त्यस क्षण मेरो मनभित्रको परदेशी बुबालाई भने त्यो वाक्यले गहिरोसँग छोयो।
विदेशमा रहेका हजारौँ नेपाली बुबाहरू आफ्ना परिवारका लागि घर, गाउँ, समाज र आफ्ना रहरहरू त्यागेर परदेशिएका छन्। कसैले चर्को घाममा निर्माणस्थलमा पसिना बगाइरहेका छन्, कसैले कारखानाको कोलाहलमा दिनरात खटिरहेका छन्। कोही सरसफाइको काममा छन्, कोही सुरक्षागार्ड, चालक वा अन्य कठिन श्रममा संलग्न छन्। उनीहरूका दिन प्रायः थकानले भरिएका हुन्छन् र रातहरू परिवारको सम्झनाले।
उनीहरूले कमाएको प्रत्येक रुपैयाँभित्र पसिना, पीडा, एक्लोपन र असंख्य सम्झौताहरू गाँसिएका हुन्छन्। त्यो पैसा केवल रकम होइन; त्यो त सन्तानको भविष्यका लागि गरिएको त्यागको प्रतिफल हो।
तर कहिलेकाहीँ सामाजिक सञ्जालको प्रभाव, देखासिकीको संस्कार र क्षणिक मनोरञ्जनको आकर्षणले हामीलाई त्यो त्यागको वास्तविक मूल्यबाट टाढा पुर्याइदिन्छ। खर्च गरिएको रकम ठूलो वा सानो हुनु मुख्य कुरा होइन। महत्वपूर्ण कुरा त्यो रकमको पछाडि लुकेको श्रम, समय र संघर्षलाई सम्मान गर्न सक्नु हो।
त्यो रातको यात्रामा मलाई सबैभन्दा बढी सोच्न बाध्य बनाएको कुरा भने बालकको भनाइ थियो। उसले बाबुप्रति सम्मानभन्दा प्रतिरोधको भावना व्यक्त गरिरहेको थियो। सम्भवतः उसले बाबुको अनुहार मोबाइलको स्क्रिनमा मात्र देखेको छ। उसले आमाको माया, स्याहार र साथ नजिकबाट पाएको छ, तर बाबुको त्याग, पीडा र संघर्षलाई बुझ्ने अवसर पाएको छैन।
यहीँबाट हाम्रो समाजको अर्को चुनौती सुरु हुन्छ। परदेशमा रहेका अभिभावक र घरमा हुर्किरहेका सन्तानबीच भावनात्मक दूरी बढ्दै जाने खतरा। यदि हामीले बालबालिकालाई बाबु केवल पैसा पठाउने व्यक्ति होइनन्, परिवारका संरक्षक, मार्गदर्शक र त्यागी सदस्य हुन् भन्ने बुझाउन सकेनौँ भने उनीहरूको संघर्ष बैंक खातामा जम्मा भएको रकममा मात्र सीमित हुन सक्छ।
बालबालिकामा अभिभावकप्रति सम्मान, प्रेम र कृतज्ञताको भावना विकास गर्नु परिवार र समाज दुवैको साझा जिम्मेवारी हो। किनकि परिवार केवल आर्थिक आधारमा टिक्दैन; त्यो त त्याग, सम्मान, विश्वास र भावनात्मक सम्बन्धको जगमा अडिएको हुन्छ।
घाँसीकुवादेखि डुम्रेसम्मको त्यो छोटो यात्रा वास्तवमा नेपाली समाजको एउटा सानो तर गहिरो चित्र थियो। एकातिर सामाजिक सञ्जालको प्रभावमा गरिएको खर्चिलो यात्रा थियो, अर्कोतिर हजारौँ किलोमिटर टाढा बसेर परिवारका सपनाहरू बोकेका परदेशी श्रीमान् र बुबाहरूको अथक संघर्ष। अनि बीचमा थियो नयाँ पुस्तालाई त्याग, श्रम र जिम्मेवारीको मूल्य सिकाउने हाम्रो सामूहिक दायित्व।
चटपटको स्वाद केही मिनेटमै हराउँछ। सामाजिक सञ्जालको चर्चा पनि केही दिनमै सेलाउँछ। तर एउटा बुबाले आफ्नो परिवारका लागि गरेको त्याग, एउटा श्रीमानले आफ्नो घरका लागि बगाएको पसिना र एउटा अभिभावकले सन्तानका लागि सुम्पिएको जीवनभरको संघर्ष भने क्षणिक विषय होइन।
हामीले कमाइको रकम मात्र होइन, त्यस रकमको पछाडि लुकेको पसिना पनि सम्मान गर्न सिक्नुपर्छ। किनकि पैसा फेरि कमाउन सकिन्छ, तर परिवारका लागि त्यागिएका समय, सपना र भावनाहरू कहिल्यै फर्केर आउँदैनन्।