दोहा, कतार — प्रवासको व्यस्त जीवनमा रहेर पनि नेपाली कला, भाषा, मौलिक संस्कृति तथा परम्पराको संरक्षण र संवर्धनमा निरन्तर क्रियाशील रहँदै आएको क्षत्री समाज नेपाल, कतार शाखाले आफ्नो पाँचौँ अधिवेशन तथा १६औँ स्थापना दिवस-२०२६ भव्य रूपमा मनाउने भएको छ।
”राष्ट्रिय अखण्डता र जातीय सद्भावका निमित्त क्षत्री एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २०१० (वि.सं. २०६७) मा स्थापित यस समाजले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा विशेष साहित्यिक, सांस्कृतिक तथा साङ्गठनिक कार्यक्रमको आयोजना गर्न लागेको हो।
आफ्नो क्षत्री समुदायको हक, हित, पहिचान र स्वाभिमानको रक्षाका साथै कतारमा रहेका सम्पूर्ण नेपालीहरूबीच आपसी भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्न यो संस्था स्थापनाकालदेखि नै समर्पित रहँदै आएको छ।
संस्थाका अध्यक्ष श्यामकुमार डाँगी क्षत्रीका अनुसार यसपटकको अधिवेशन तथा स्थापना दिवसलाई थप सभ्य, भव्य र रचनात्मक रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको छ। संस्थाको नेतृत्व तहबाट कतारमा रहेका क्षत्री दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवामा अझ बढावा दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस विशेष समारोह आगामी ३१ जुलाई २०२६ का दिन दिउँसो १२:३० बजे कतारको फिरोज बिन अब्दुल अजिजस्थित थरवा रेस्टुरेन्टमा आयोजना हुनेछ।
उक्त ऐतिहासिक कार्यक्रममा कतारमा बसोबास गर्ने सम्पूर्ण क्षेत्री दाजुभाइ, दिदीबहिनी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न वैचारिक एवम् सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सचिव शिवलाल केसीले हार्दिक निमन्त्रणा तथा सार्वजनिक आह्वान गर्नुभएको छ। यस अधिवेशनले संस्थाको विगतको कार्यप्रगति समीक्षा गर्नुका साथै भावी नीति, योजना तथा नयाँ कार्यसमिति समेत चयन गर्नेछ।