दोहा (कतार) — प्रवासी नेपाली मञ्च, कतार (ओएनएफ कतार) ले आयोजना गरेको पहिलो बृहत् रक्तदान कार्यक्रम शुक्रबार हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा भव्यताका साथ सम्पन्न भएको छ।
बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको कार्यक्रममा १५२ जनाले रक्तदान गरी कतारको नेपाली समुदायमा हालसम्मकै सर्वाधिक रक्तदाताको नयाँ रेकर्ड कायम भएको छ। यसअघि एनआरएनए एनसिसी कतारले १४३ जनाको सहभागितामा राखेको अभिलेखलाई उछिन्दै यो कार्यक्रम ऐतिहासिक बनेको हो।
नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा आयोजित उक्त मानवीय अभियानमा नेपालीसहित भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स तथा विभिन्न अफ्रिकी मुलुकका नागरिकहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। कतारमा स्थापित विभिन्न नेपाली सङ्घ-संस्थाका प्रमुख, पदाधिकारी तथा प्रतिनिधि गरी करिब पाँच सय जनाको उपस्थिति कार्यक्रमको अर्को आकर्षण बनेको थियो।
कार्यक्रमको सुरुआत नेपाली रक्तदाता सङ्घ कतारका कार्यवाहक अध्यक्ष सन्तोष पौडेलले स्वयं रक्तदान गरेर भएको थियो भने मञ्चका सचिव रघुनाथ शर्माको रक्तदानसँगै औपचारिक समापन भएको थियो। सहभागी सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
मञ्चका सचिव रघुनाथ शर्माले ब्लड बैङ्कमा रगतको मौज्दात बढाई बिरामीहरूको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका छन्। रक्तदान कुनै जाति, धर्म, राष्ट्रियता वा राजनीतिक आस्थामा सीमित नभई साझा मानवीय अभियान भएको सन्देश कार्यक्रमले दिएको छ।
मञ्चका अध्यक्ष अफसर अलि खानले कतारको नेपाली समाजमा राजनीतिक विचार फरक भए पनि भाइचारा, सद्भाव र आपसी समन्वय कायम गर्दै अघि बढ्नुपर्ने बताएका छन्। कार्यक्रम सफल बनाउन खट्ने स्वयंसेवक, प्राविधिक टोली, हमाद अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था र बहुराष्ट्रिय रक्तदाताहरूप्रति आभार व्यक्त गरिएको छ।
यस कार्यक्रमले संस्थाको सामाजिक सक्रियता र सामुदायिक एकतालाई उजागर गर्दै कतारमा नेपाली समुदायको सकारात्मक पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। हमाद अस्पतालको ब्लड बैङ्कमा दैनिक रूपमा चाहिने रगतको माग पूर्ति गर्न यो १५२ युनिट रगतले ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ।