-करिम बक्स
कतारमा आयोजित ‘एसियन मेडिकल क्याम्पेन २०२६’ अन्तर्गतको निःशुल्क स्वास्थ्य शिविरबाट ५७५ जना नेपाली श्रमिक लाभान्वित भएका छन्। गत शुक्रबार सम्पन्न शिविरमा सहभागी हुन ७४९ जना नेपालीले अग्रिम नाम दर्ता गराएका थिए। नेपालीसहित दक्षिण एसियाली मुलुकका करिब चार हजारभन्दा बढी श्रमिकले स्वास्थ्य परीक्षणका लागि रजिस्ट्रेसन गराएको आयोजकले जनाएको छ।
सेन्ट्रल इन्डियन कम्युनिटी (सिआईसि) को मुख्य आयोजनामा सम्पन्न अभियानमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारले पहल तथा समन्वय गरेको थियो। विभिन्न सामुदायिक संस्थाको सहकार्यमा सञ्चालन गरिएको शिविरमा ठूलो सङ्ख्यामा श्रमिकले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए।
शिविरमा स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा नर्ससहित दुई सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालन भएका थिए। त्यसैगरी, व्यवस्थापन, सेवा प्रवाह तथा सहभागीलाई आवश्यक सहयोग पुर्याउन करिब ७६ जना नेपालीसहित तीन सयभन्दा बढी स्वयंसेवक खटिएका थिए।
श्रमिकको स्वास्थ्य अवस्था प्रारम्भिक रूपमा पहिचान गर्ने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा आवश्यक परे थप परीक्षण र उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थासम्म पहुँच पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो। नियमित स्वास्थ्य परीक्षण गराउन समय र अवसर नपाएका श्रमिकका लागि शिविर उपयोगी बनेको आयोजक पक्षले जनाएको छ।
यस अभियानमा नेपाली समुदायको सहभागिता बढाउन अनेमुसले समन्वय तथा सहजीकरण गरेको थियो। नेपाली स्वयंसेवकहरूको सक्रिय सहभागिताले स्वास्थ्य शिविरको व्यवस्थापन र सेवा प्रवाहमा समेत सहयोग पुगेको थियो।
विभिन्न दक्षिण एसियाली मुलुकका श्रमिकलाई समेटेर सञ्चालन गरिएको यस अभियानले सामुदायिक संस्थाहरूबीचको सहकार्यबाट श्रमिकको स्वास्थ्य सुरक्षा र सेवामा पहुँच विस्तार गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।