२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

कोशी प्रदेशको अधिवेशन स्थापना दिवस र सांस्कृतिक कार्यक्रम शुक्रबार दोहामा

​दोहा (कतार) । कतारमा स्थापित सामाजिक संस्था ‘कोशी प्रदेश समन्वय परिषद् कतार’ ले आफ्नो पाँचौँ अधिवेशन, नवौँ स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रमको तयारीलाई तीव्र पारेको छ। परिषद् र मातहतका विभिन्न जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा आगामी २७ नोभेम्बर २०२६ (शुक्रबार) का दिन उक्त कार्यक्रम हुन लागेको हो।

​“सामाजिक परिवर्तन समृद्धिको आधार” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको परिषद्ले कतारमा रहेका कोशी प्रदेशका नेपाली श्रमिकहरूको समस्या समाधान, हकहित र अधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ। परिषद्का अध्यक्ष रुद्र शर्माले यस अधिवेशनबाट श्रमिकहरूका समस्या समाधानमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने नयाँ नेतृत्व चयन गरिने जानकारी दिए। उनका अनुसार नेतृत्व चयन र संस्थाको आगामी कार्यदिशालाई व्यवस्थित बनाउन मातहतका जिल्ला संस्थाहरूसँग समन्वय र छलफललाई तीव्र बनाइएको छ।

​कतारमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य अधिवेशनले राखेको अध्यक्ष शर्माको भनाइ छ।

परिषद्का महासचिव महेन्द्र उप्रेतीद्वारा जारी सूचना अनुसार कार्यक्रम कतारको प्लाजा मलस्थित मेस क्याफे रेस्टुरेन्टको सभाहलमा बिहान ११:०० बजेदेखि सुरु हुनेछ। कार्यक्रमलाई तोकिएकै समयमा सुचारु गर्ने हुँदा  कार्यक्रम स्थलमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

​अधिवेशन तथा वार्षिकोत्सव समारोहमा कतारस्थित नेपाली समुदायका प्रतिनिधि, विभिन्न प्रदेश तथा सङ्घसंस्थाका प्रमुख, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

​परिषद्ले पत्राचार गरिसकिएको जानकारी गराउँदै कतै पत्र पुग्न छुटेको खण्डमा यसै समाचार तथा सूचनालाई आधिकारिक निमन्त्रणा मानी कार्यक्रममा गरिमामय उपस्थितिका लागि सम्पूर्ण कतारवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस