२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

कस्ले भन्छ हामीले केही गरेका छैनौँ ?

विक्रम संवत् २०४५ सालमा भारतले १८ महिना नाकाबन्दी लगाउँदा दिनभरी उडान भरेको “शाही नेपाल वायु सेवा निगम” ले बेलुका भएपछि सिंगापुर बाट मट्टीतेल ल्याएर उही दाममा बेच्ने राजाको व्यवस्था होइन यो। सयुक्त राष्ट्र संघमा भूपरिवेष्ठित राष्ट्रले पाउने सेवा सुविधा र आधिकारको उठान गर्ने राजाको व्यवस्था होइन यो। त्रिवर्षिय र पञ्चवर्षिय विकासका योजना ल्याउने राजाको व्यवस्था होइन यो। ४३ सालमा, २ वर्षमा पूरा गरिसक्ने मेलम्चिको योजना ल्याउने राजाको व्यवस्था होइन यो। १३६ वटा अन्तराष्ट्रिय स्तरको उद्योग खोली आत्मस्वावलम्बी बनाउने राजाको ब्यबस्था होइन यो।

यो त २०३९ सालमा कोकाकोलामा ५० पैसा राजस्व वृद्धि गर्दा, पुहातु चौधरी र नानिमैया दाहाल जस्ता जोकर हरुलाई राष्ट्रिय पञ्चायमा जिताई, खिल्ली उढाई नाराजुलुस गर्ने कम्युनिष्टहरूको व्यवस्था हो। भएका उद्योगहरू बेची १८० वटा पार्टी खोली बेरोजगार उत्पादन गर्दै युवाहरूलाई खाडीमा बेच्ने व्यवस्था हो। हिजोका जंगली र हात्तीछाप चप्पलहरूले शहरमा विलासिताको जीन्दगी बिताउने व्यवस्था हो। जस्को निम्ति गणतन्त्र ल्याईएको हो, उनिहरूलाई मूल्य वृद्धिको मारले एउट रौँ पनि हल्लिँदैन। सरकारी धन्सारमा थुपारिएका श्रोत र साधन उनिहरू कै भयो। यो व्यवस्था रहुञ्जेल टुलुटुलु हेर्ने नागरिक ले हो। मर्ने हामीले नै हो।

हामी सँग अहिले के छैन ? संसार मा नभएका असीमित अधिकारहरू सुरक्षित छन्। यो भन्दा ठूलो उपहार महङ्गी र मूल्य वृद्ध हुँदै होइन। हामीले राजा रैती र दरवार फालेका छौँ। जंगे पिलर गाड्नेहरूको शालिक ढालेका छौँ। पृथ्वीनारायण शाह, बाहादुर शाहलाई भूलेका छौँ। हामीले के गरेका छैनौं ? मार्क्स, लेनिन, माओको जन्मदिवस मनाएका छौँ। महात्मा गान्धीलाई टेवलमा सजाएका छौँ। चिनियाँ क्रान्ति सोभियत क्रान्ति अनेकौं क्रान्ति का भाषण सुनेका छौँ। हामी ले के गरेका छैनौं ? संविधान बनाएका छौँ। गणतन्त्र, संघियता, धर्म निरपेक्षता ल्याएका छौँ। विकासको नाममा एम सी सी भित्र्याएका छौँ। हामी ले के गरेका छैनौं ? जनताको छोरा छोरीलाई राष्ट्रपति बनाएका छौँ। तिनका कारिन्दालाई मुख्यमन्त्री बनाएका छौँ। उनीहरूको सुरक्षाको निम्ति दैनिक करोडौँ खर्चेका छौँ। हामी ले के गरेका छैनौं ?

हामीले पूरा नगरेको त भू-राजनीतिको आवश्यकता मात्र हो । हामीले पूरा नगरेको त नागरिकको दैनिक आवश्यकता मात्र हो। हामीले गर्न नसकेको त मूल्य वृद्धि र महङ्गी नियन्त्रण मात्र हो। बालबालिका को भविष्य सँग जोडिएको पाठ्यपुस्तकहरू पो उपलब्ध गराएका छैनौं। विभिन्न धर्मका धार्मिक पुस्तकहरू उपलब्ध गराएकै छौँ। दुर्गम पहाडी जिल्लाहरूमा सिटामोल पो उपलब्ध गराएका छैनौं। रक्सि र बियरका बोतलहरू उपलब्ध गराएकै छौँ। शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकता मात्र पूरा गर्नु छ। बाँकी त जम्मै पूरा गरेका छौँ। विज्ञहरूको राय सल्लाह सुझाव मात्र सुन्न बाँकी छ। अरूका कुरा त जम्मै सुनेकै छौँ। शैक्षिक बेरोजगारी हरूको समस्या पो सामाधान गरेका छैनौं। ठेकेदार, कार्यकर्ता र डनहरूको प्रत्येक समस्याको सामाधान गरेकै छौँ।

शैक्षिक योग्यता हासिल गरेका दक्ष अनुभवीहरूलाई पलायन हुन दिएकै छौँ। कृषि जस्तो महत्त्वपूर्ण क्षेत्रमा लगानी नगरेर विलासिताका अनुत्पादक टावरहरूमा लगानी गरेकै छौँ। दुई आणविक शक्ति सम्पन्न देशहरू उत्तर कोरिया र अमेरिका को वार्ता सफल गराउने नेता जन्माएका छौँ। कोरोना कालमा बन्दगरिएका धार्मिक स्थलहरू पो खोल्न दिएका छैनौं। अरू त तेस्तै हो, पानी कम्ती खाएर पँहेलो पिसाब आउँदा विमान चार्टर गरेर हाम्रा नेताहरूलाई विदेशमा उपचार गर्न पठाएकै छौँ। कस्ले भन्छ हामीले केही गरेका छैनौं ? कस्ले भन्छ हामी कमजोर छौँ ? दु:खको साथ भन्नू पर्छ, सबैभन्दा ठूलो मर्ने अधिकार हामीले सुरक्षित गरेका छौँ।
नमस्कार।

#सबैको_जयहोस्

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस