२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

अब सक्षम युवा नेताहरूले नेतृत्व लिन ढिलो गर्नु हुँदैन

कुनै स्थापित राजनीतिक दलको नेतृत्व यदि साँच्चिकै इमान्दार छ भने सबै भन्दा पहिला त उसले आफ्नो पार्टीबाट सांसद बनेका नेताहरु मध्येबाट मन्त्री बन्नकालागि योग्य सांसदहरुको एउटा प्रारम्भिक लिष्ट तयार गर्न सक्छ । त्यसपछि ती सांसदहरुलाई भोली तपाईंहरुले हाम्रो पार्टीको प्रतिनिधित्व गर्दै मन्त्री बन्ने अवसर पाउनु भयो भने तपाईं कुन क्षेत्रमा काम गर्न चाहनु हुन्छ ? उक्त क्षेत्रमा तपाईंसंग देश र जनताकाको हितमा काम गर्नका लागि के कस्ता नयाँ कार्यक्रम तथा योजनाहरु छन् ? त्यस्ता कार्यक्रमहरुको कार्यान्वयनका लागि अनुमानित समय सीमा कति हुने ? लगायतका विषयहरुलाइ समेटेर एउटा प्रारम्भिक प्रस्ताव तयार गरेर पेस गर्नुस् भनेर भन्न सक्छ । यसो गर्दा, भोली आवश्यकताको आधारमा कुन सांसदलाई केको जिम्मेवारी दिने भन्ने कुराको निर्णय गर्न सहज हुन्छ ।

विशेष अवस्थामा मन्त्री नियुक्त गरिसकेपछि पनि सम्बन्धित मन्त्री बाट यस्तो प्रकारको लिखित प्रस्ताव पार्टी कमिटी वा नेतृत्वलाई बुझाउनु पर्ने नियम बनाउन सकिन्छ । यो विधिलाई मन्त्री मात्र हैन हरेकप्रकारका राजनीतिक नियुक्तिहरु गर्दा अपनाउन सकिन्छ । यति प्रकृया पुरा गरेर बनेको कुनै पनि मन्त्री वा प्रमुख व्यक्तिले देश र जनताको हितमा उसले पेश गरेरेको लिखित प्रस्ताव÷ प्रतिबद्धता अनुसार काम गर्न बाध्य बन्ने छ । यस्तो अवस्थामा आफ्नो प्रतिबद्धता अनुसार काम गर्न नसक्दा भोली आफु अयोग्य सावित हुने र आफुले प्राप्त गरेको पद गुम्न सक्ने डर पनि सम्बन्धित व्यक्तिमा सधैं कायम रहने छ । यो अभ्यासले स्वतः भ्रष्टाचारको न्यूनीकरण त हुने नै छ, संगसंगै यसले सांसद, मन्त्री लगायतका अन्य प्रमुख व्यक्तिहरुमा अनुशासनको विकास पनि गर्ने छ ।

यस्तो विधि अपनाउनाले, मन्त्री लगायतका अन्य संस्थाका कार्यकारी प्रमुखहरुको कार्यसम्पादन अर्थात उनिहरुले पेश गरेको प्रस्ताव अनुरुप काम गरे नगरेको कुरा पनि सजिलैसंग मूल्याङ्कन तथा समीक्षा गर्न सकिने छ । र यसले भोलीका दिनमा उनिहरुलाई नियुक्त गरिएको जिम्मेवारीमा अझै रहिरहन दिने कि नदिने भन्नेकुराको निर्णय गर्न पनि पार्टीका शीर्ष नेताहरुलाई सजिलो पर्ने छ ।

तर हाम्रो देशको दुर्भाग्य कस्तो छ भने, यहाँ मन्त्री लगायतका अन्य राजनीतिक नियुक्तिहरु गर्दा प्राय गरेर देश र जनताको हितमा राम्रो काम गरेर देखाउन सक्ने कुनै व्यक्तिको खुबी अथवा उसको योग्यताका आधारमा भन्दा पनि सकेसम्म व्यक्तिगत रुपमा ठुला नेताहरुलाई आर्थिक लगायतका लाभ दिन सक्ने अर्थात उनिहरुको अनुकुल काम गरिदिने ‘येस् म्यान्’ हरुलाई छानेर नियुक्ति दिने प्रचलन छ । अधिकांश अवस्थामा यस्ता नियुक्तिहरु सम्बन्धित पार्टी कमिटी वा अन्य कुनै निकायको स्वतन्त्र निर्णयका आधारमा भन्दा पनि विभिन्न देशी विदेशी दलाल, नाफाखोर तथा विचौलियाहरुको सिफारिसमा हुनेगरेको छ ।

कादाचित् कुनै राम्रा व्यक्तिहरुले कुनै अवसर पाइहाले भने पनि उनिहरुलाई स्वतन्त्र रुपमा देश र जनताको हितमा काम गर्न दिइदैन । उनिहरुका आफ्नै पार्टी भित्रका वा पार्टीले सिफारिस गरेका दलाल, नाफाखोर, गुण्डा नाइकेहरुको दबाब झेल्न गह्रो हुने र बाहिरिनु परेको अथवा हटाइने गरेको हामीले देख्दै आएका छौँ । यसले के देखाउछ भने हाम्रो सिङ्गो मुलुकको सरकार सञ्चालन प्रणालीमा अप्रत्यक्ष रूपमा एक खाले यस्तै मनिसहरुको समुहको बोलवाला चल्ने गरेको छ । जुन समुह जनता गरिव हुँदा धनी बन्छ र जनता रुँदा हास्ने गर्दछ ।

हालै एक जना निवर्तवान मन्त्री एउटा टेलिभिजन अन्तर्वातामा भन्दै हुनुहुन्थ्यो, “खुट्टामा जुत्ता, टाउकोमा जेल र घाँटीमा टाई झुन्ड्याएका दलालहरुका कारण मन्त्रालय भित्र सुरुका दिनहरुमा मलाई निसास्सिएको अनुभुती हुन्थ्यो, जुन व्यक्तिहरु आफ्नै पार्टी वा नेताहरुको सिफारिसमा आउने गर्थे । आफ्नो पार्टीको नाम बेचेर विभिन्न उपभोक्ता समिती मार्फत काम गराएर कमिशन खानका लागि योजना माग्न आउने, विभिन्न आपूर्तिकर्ता तथा ठेकेदारहरुको नाममा एलओआईका लागि सिफारिस गरिमाग्ने लगायतका मान्छेहरुको आकांक्षा पुरा गर्नै गह्रो । राजनीति आम जनताको जीवन परिवर्तनका लागि, सामाज परिवर्तनका लागि एउटा पवित्र माध्यम बन्नु पर्ने थियो । तर राजनीतिलाई कमाई खाने भाँडो बनाएका, जीवन निर्वहाको साधन बनाएका आफ्नै पार्टी भित्रका यस्तै मान्छेहरुले बदनाम गरेका छन् ।”

हाम्रा केही मन्त्रीहरुका यस्ता कुरा सुन्दा लाग्छ, हाम्रा ठुला भनिने राजनीतिक दलहरुनै सम्पूर्ण रुपमा विभिन्न देशी विदेशी शक्ति केन्द्रका मान्छे, दलालीहरु, नाफाखोरहरु तथा विचौलियाहरुको चङ्गुलमा फसेका छन् । अझ स्पष्टरुपमा भन्ने हो भने, हाम्रा ठुला राजनीतिक दल र तिनका नेताहरु एउटा यस्तो कुनै शक्ति द्वारा नियन्त्रित वा निर्देशित छन्, जुन शक्तिले नेपाल शान्त र समृद्ध बनेको कहिल्यै हेर्न चाहँदैन । यही कारणले गर्दा, आम जनताको विश्वास प्राप्त गरेर पटक पटक बहुमतको सरकार बनाउने मौका पाउदा पनि अहिलेसम्म कुनै पनि दलले स्थिर रुपमा आफ्नो कार्यकाल पुरा गर्न सकेको इतिहास हाम्रो देशमा छैन ।

आफ्नो देशको यस्तो दुर्दशा देख्दै गर्दा, मेरो कर्मभुमि कतारमा भने २५ जुन २०१३ का दिन नयाँ राजाको रुपमा पदभार ग्रहण गरेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गएको ९ वर्ष भित्रमा कतारलाई सबै तहमा विकसित मुलुकको सूचीमा मात्र पारेनन्, उनको कुशल नेतृत्वमा कतारले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा खेलकुदका क्षेत्रमा सारा विश्वलाई नै चिकित तुल्याउने प्रगति गर्यो । जसले गर्दा आज कतार सारा विश्वका लागि एउटा रोल मोडल बनेको छ ।

एउटा राजा÷नेतामा इच्छाशक्ति र इमानदारीता हुने हो भने ९–१० वर्षको समय देश बनाउनका लागि पर्याप्त हुने रहेछ अर्थात ९–१० वर्षको समयमा अकल्पनिय प्रगति गरेर देखाउन सम्भव हुने रहेछ । अब यो कुरा हाम्रो देशका ठुला दलका ठुला नेताहरुलाई कसले सम्झाउने ?

खैर, जतिसुकै विधिविधान तथा पद्धतिका कुरा गरे पनि मुख्य समस्या हाम्रा ठुला राजनीतिक दलका ठुला नेताहरुमा नै छ । यी नेताहरुभित्र लुकेको अहंकार र अनुचित आकांक्षामा नै छ । अहिलेसम्म आम जनताले अपेक्षा गरे अनुसार देशको विकास हुन नसक्नुमा पनि मुख्य जिम्मेवार हाम्रा ठुला दलका ठुला नेताहरु नै हुन् ।

मुलुकको व्यवस्था परिवर्तनका लागि ठुला दलका ठुला नेताहरुको भूमिकालाई सधैं सम्झना गरौला । तर देश र जनताको अवस्था परिवर्तन गर्ने सवालमा उनिहरुले देखाएको अकर्मण्यतालाई भने कहिल्यै विर्सन सकिने छैन । मुलुकमा नयाँ युगको आरम्भ गर्न तथा देश र जनताको अवस्था परिवर्तन गर्न, अब हरेक दलका सक्षम युवा नेताहरुले कम्मर कस्नै पर्छ, अन्यथा धेरै ढिलो हुनसक्छ ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस