
दोहा ।
फिफा विश्वकपमा स्पेनले बुधबार विश्वकप इतिहासमा आफ्नो सबैभन्दा शानदार जित निकालेको छ । स्पेनले कतारको अल थुमामा रंगशालामा सम्पन्न समूह ‘ई’ को खेलमा बुधबार कोस्टा रिकामाथि ७-० को फराकिलो जित निकालेको हो ।
याे स्पेनले विश्वकपमा निकालेको हालसम्मकै फराकिलो जित हो । खेलमा स्पेनका फेरान टोरेसले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को असेन्सिओ, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक-एक गोल गरे । यसअघि सन् १९९८ को विश्वकपमा बुल्गेरियामाथि ६-१ को जित हात पारेको थियो l
खेलको ११औँ मिनेटमा पेड्रीले सिर्जना गरेको मौकालाई सदुपयोग गर्दै ओल्मोले स्पेनलाई अग्रता दिलाएका थिए ।
२१ औँ मिनेटमा जोर्डी अल्बाले गरेको क्रसमा पेनाल्टी बक्समा रहेका असेन्सिओले गोल गर्न सफल भए र स्पेनलाई दोब्बर अग्रता दिलाए l
यस्तै, ३१औँ मिनेटमा टोरेसले पेनाल्टी गोल गर्दै स्पेनको अग्रतालाई ३-० मा पुर्याए । कोस्टा रिकाका ओस्कार डुएर्टेले १८ डी बक्सभित्र जोर्डी अल्बामाथि फाउल गरेपछि स्पेनले सोझै पेनाल्टी पाएको थियो ।
पहिलो हाफमा ३-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा चार गोल गर्यो । स्पेनले विश्वकपको इतिहासमा पहिलो हाफमै ३-० को अग्रता बनाएको यो दोस्रोपटक हो । यसअघि स्पेनले सन् १९३४ को संस्करणमा ब्राजिलविरुद्ध पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो ।
टोरेसले ५४औँ मिनेटमा गोल गर्दै स्पेनलाई ४-० को अवस्थामा पुर्याए । यस्तै, गाभीले ७५औँ मिनेटमा गोल गर्दै स्पेनको अग्रतालाई ५-० मा पुर्याए ।
१८ वर्ष ११० दिनको उमेरका गाभी यो गोलसँगै विश्वकपमा गोल गर्ने स्पेनका सबैभन्दा कान्छा खेलाडी बने । स्पेनका लागि सोलरले ९० औं मिनेटमा छैटौं र मोराटाले इन्जुरी टाईममा सातौं गोल गरे ।
विश्वकपको समूह ‘ई’ मा स्पेन र कोस्टा रिकासँगै जर्मनी र जापान छन् । जितसँगै तीन अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै कोस्टा रिका समूहको पुछारमा पुगेको छ । तीन नै अंक जोडेको जापान दोस्रो र अंकविहीन जर्मनी तेस्रो स्थानमा छन् l