२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

विश्वकपमा आजबाट क्वाटरफाइनलका खेलहरु ,पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्दै

दोहा-दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।

यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन । अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ ।

हुन त यसपटक विश्वकपको पहिलो खेलमै अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी अरेबिया समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस