२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

संघसंस्थाहरु गुणात्मकका साथै क्रियाशिल हुनुपर्ने अहिलेको आवस्यकता

समिक्षा अध्यक्षको कलमबाट

दोहा ।
नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो स्थापनाको १७ औं दिवस भव्यताका साथ मनाएको छ । सर्वप्रथमत: कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्नु हुने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
कार्यक्रम आयोजना हुनु वा शुरु भएर समापन हुनुलाई कार्यक्रम सम्पन्न भएको वा सफल भएको नमान्ने हो भने हामीले कार्यक्रमबाट के हासील गर्यौं वा कार्यक्रमबाट हामीले के दियौं भनेर समिक्षा गर्नु जरुरी छ । स्थापना दिवस मनाउंदै गर्दा उक्त कार्यक्रमले दिएको वा त्यहाँ उठेका प्रश्नहरुलाई नजरन्दाज गर्न मिल्दैन ।
हरेक हप्ता नेपाली समुदायमा कुनै नकुनै कार्यक्रमहरु भई नै रहन्छन् । कार्यक्रमहरुको फेहरिस्त, खर्च, र धपडीलाई न्यूनीकरण गर्नुपर्छ भन्ने मान्यता अनुरुप नेपाली नियोग प्रमुख डाक्टर नरेश बिक्रम ढकालले बिभिन्न समयमा आफ्नो अनुरोधाशय विचार राख्दै राख्दै आएका छन् भने बिभिन्न संघ संस्थाहरुसंग औपचारिक अनौपचारिक छलफललाई निरन्तरता दिंदै आई रहेका छन् । खैर, यहाँ यस विषयमा चर्चा भन्दापनि सन्दर्भलाई छेड्दै, म १७ औं स्थापना दिवसमा नै फर्किन चाहन्छु।
कार्यक्रम समापन भए लगत्तै सहभागीहरु फोटो सेसनमा व्यस्त थिए, हामीले निम्तेका पध्येका छिमेकी पाहुना पाकिस्तानी कम्युनिटीका वरिष्ठ व्यक्तित्व तथा सन् १९५८ देखि निरन्तर संचालनमा रहेको “रहवर किसान दैनिक” का चीफ एडिटर हारुन रशीद कुरैशी मेरो छेवैमा आए र भने “तपाईहरुको कार्यक्रममा भाषण किन यति लामो हुन्छ” र तुरुन्तै प्रतिप्रश्न गरे “वक्ताहरुपनि धेरै भएनन् र?” उनको प्रश्नको उत्तर मैले के दिएँ वा के भनेर टारें त्यो पनि आजको विषय होइन ।
कार्यक्रममा कतार रेडियो उर्दु सर्भिसका आरजे तथा सामाजिक मिडियाका प्रभावशाली व्यक्तित्व उबैद ताहीरलाई हामीले विशेष वक्ताको रुपमा आमन्त्रण गरेका थियौं र उनलाई २० मिनेटको समय प्रदान गरिएको थियो, तर उनले ८ मिनेटभन्दा कम समय लिए र आफ्नो मन्तव्य राखे ।
आरजे ओबैद ताहीरलाई आफुले पाएको समय भन्दापनि बढी समय लिएर मन्तव्य राख्ने छुट थियो, किनकि आयोजक तथा सहभागीहरुको लागि उनी विशेष आकर्षक व्यक्ति थिए ।
मुद्दामा केन्द्रीत रहेर बोल्ने बानीको बिकास भएमा धेरै समय खर्चेर बोल्नु पर्दैन भन्ने कुरा उनको ८ मिनेटलाई लिए पुग्छ । कार्यक्रमको दौरान आसन ग्रहणको लागि वाचन गरिएका संस्थाहरुको फेहरिस्त प्रति आश्चर्य व्यक्त गर्दै ओबैद ताहिरले आफ्नो मन्तव्यको अन्त्यमा भने ” तपाईहरुले आसन ग्रहणमा सयडेढ सयवटा संस्थाहरुको नाम लिनु भयो, यसबाट मैले अनुमान गरे कि यहाँ धेरै संस्थाहरु सक्रिय छन्, तर यति धेरै संस्थाहरुले के गर्छन्? कमसेकम आफ्ना आम नेपालीहरुलाई गाईडेन्स (मार्गदर्शन) गर्नु पर्यो नि!”
हामी सयौंको संख्यामा संघ संस्थाहरु छौं, तर त्यसको जति फाइदा आम नेपालीले लिन सक्नु पर्ने थियो त्यो उनीहरुले पाई रहेका छैनन् भन्ने ओबैद ताहीरको तर्कप्रति हामीले सोच्नु पर्ने हुन्छ । कार्यक्रम विषयमा आधारित हुनुपर्दछ, कार्यक्रमले केहि न केहि सन्देश दिन सक्नु पर्दछ भन्ने सोचको बिकास अब हामीले बिकसित गर्नु पर्दछ ।
हामी, हामीले नै बनाएको परम्परामा अल्झिएर हुँदैन । आयोजकले दिने निम्तोको अर्थ आसन ग्रहण र भासन ग्रहणसंग जोडेर, मान वा अपमानको कसी नाप्ने भन्दापनि निम्तो भनेको आफैंमा सम्मान हो त्यसलाई ग्रहण गर्नुमात्र पनि मेरो कर्तव्य हो भन्ने सोचको बिकास आवस्यक छ ।
म जान्ने छु, मैले बोलेको सबैले सुन्नु पर्दछ भन्ने सोच भनेको सामाजिक सोच होईन, सामान्यता आसन ग्रहणको फेहरिस्त तलमाथि भै दिंदा चरम अपमान भएको मान्ने, मन्तव्य राख्न नपाए कार्यक्रम नै खत्तम भन्ने परिपाटी बदल्नु पर्दछ अब ।
एकजना मित्रले कार्यक्रममा आफ्नो मन्तव्य भए नभएको बारे जिज्ञासा राखे, ‘छैन’ भन्ने उत्तर पाएपछि उनले ‘काम विशेसले कार्यक्रममा उपस्थित हुन नसक्ने’ जानकारी गराए । एकजना अग्रजले ५ मिनेट मन्तव्य राख्न पाऊँ भनी आग्रह गरे, तर सेड्युल अनुसार उनको मन्तव्य थिएन, उनी शुरुदेखि अन्तसम्म कार्यक्रममा त बसे, तर कार्यकम सकिनासाथ नजिक आएर कटाक्ष हान्दै भने “सर समुहमा फोटो खिचाउन तपाईंको अनुमति छ?”
एकजना मित्रले कुनै एक सन्दर्भमा भनेका थिए ” हामी नेपालीहरुको कार्यक्रम भनेको दुई महिना अघेदेखी शुरु हुन्छ, भई नभई पैसा उठाउँछौं र कार्यक्रमको नाममा कुनै रेस्टुरेन्टको मालिकलाई पैसा बुझाएर कार्यक्रम सम्पन्न भएको घोषणा गर्दछौं” उनले आफैमा प्रश्न गरे “अन्तमा हामीले के पायौं र हामीले समाजलाई के दियौं ?”
समग्रमा अब हामीले हाम्रा कार्यक्रम तथा सामाजिक गतिविधिमा व्यापक परिमार्जन गर्नु पर्दछ । छिमेकी अतिथिहरुले प्रश्न राख्ने ठाउँ दिएर होइन, उनीहरुले कटाक्ष हान्ने मौका नदिई नेपाली समुदायबाट केहि सिकेको अनुभूति गर्ने गरी हामीले हामीलाई परिस्कृत गर्नु पर्दछ ।
सायद त्यसैले होला महामहीम राजदुतले संस्थाहरुलाई गुणात्मक बनाऔं भनेका ! संस्था धेरै भएर पनि कमैमात्र नेपालीले त्यसको लाभ लिनुभन्दा थोरै संस्था र क्रियाशीलताले धेरै लाभ लिने परिपाटीलाई नै गुणात्मक भनिन्छ भन्ने मान्यतालाई आत्मासात गरौँ ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस