२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा डम्फू साँझ कार्यक्रम हुने

दोहा-कतारमा बृहत “डम्फू “साँझ कार्यक्रम हुने भएको छ ।
शैक्षिक बिकास कोषको प्रवर्द्धन तथा तामाङहरुको मौलिक बाजा “डम्फू ” लाई विश्व सामु चिनाउन, संरक्षण गर्न र डम्फूको इतिहास र महत्वबारे बर्तमान पुस्तालाई बुझाउन,भावी पुस्तालाई हस्तान्तरण गर्ने हेतुले तेश्रो डम्फू साँझ-२०२३” कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

नेपाल प्रवासी तामाङ समाज कतारले गत शुक्रबार बिहान  पत्रकार सम्मेलनको आयोजना गर्दै `डम्फू साँझ ´कार्यक्रम गर्नुको मुख्य उदेश्यको बारेमा प्रष्ट पार्दै,आउँदो जुन २०२३ शुक्रबार दिन रेजेन्सी हलको सभाहलमा भब्य कार्यक्रमको  आयोजना गर्न गइरहेको जानकारी गराएको छ ।

तामाङ समाज कतार स्थापना काल देखिनै आफ्नो समुदायको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरणका लागि समर्पित हुँदै आएको छ । हामीले समुदायको शैक्षिक विकास लागि “शैक्षिक विकास कोष” स्थापना गरेका छौं।

उक्त कोष मार्फत आफ्नो समुदायका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छौं, यस कार्यलाई निरन्तरताका लागि शैक्षिक विकास कोष प्रवर्द्धन तथा वृद्धि आवश्यक परेको हुनाले तेस्रो डम्फु साँझ कार्यक्रमको आयोजना गरिएको हो”  समाजका अध्यक्ष सुवास तामाङले बताए ।

डम्फु साँझमा चर्चित गायक एवं संगीतकार उर्गेन दोङ, सेलो गायक तथा संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा आरजे सविना तामाङ लगायतलाई निमन्त्रण गरिएको छ । कलाकारहरूले तामाङ समुदायको जीवन्त डम्फु र टुङना जस्ता लोक मौलिक बाजा सहितको संगीत, नृत्य र परम्परालाई प्रस्तुत गरिने छ ।

समाजले तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रम हेर्दै तामाङ संस्कार संस्कृतिको अनुभव बटुल्न, परम्परागत बाजा डम्फु र सेलोको भाकामा नाच्न अनुरोध गरिएको छ ।

डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग हो । . तामाङ जातिहरु विभिन्न विवाह समारोह लगायतका  विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन. । तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख–दूख ब्यक्त गर्छन् ,पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन्  ।  डम्फू बुद्ध र बोधिसत्वको प्रतीक पनि हो. ३२ वटा किलाले बुद्धको ३२ वटा प्रतिक झलकाउँछ  । 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस