२०८१ कार्तिक १ गते बिहिवार | 2024 October 17th Thursday

देश मात्र स्वाधीन भएर पुग्दैन, हामी नागरिक पनि स्वाधीन बन्न सक्नु पर्छ

¥यापर जिबब र उनका आमाबुबा बिचको विवादलाई छोडेर अहिले मुख्यत तिनवटा विषयहरु विभिन्न मीडिया तथा सामाजिक संजालमा निक्कै नै चर्चामा रहेका छन् । पहिलो, न्याय खोज्दै आफ्नो २१ महिनाको बच्चासंगै अनशनमा बसेकी निहारिका राजपुत बहिनीको विषय । दोश्रो, हाम्रा अहिलेका अर्थमन्त्री ज्युले बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गराएको विषय । र, तेश्रो अमेरिकाले नेपाली सेनासँग सहकार्यका लागि गरेको ’एसपीपी’ सम्झौताको प्रस्ताव र उक्त प्रस्तावलाइ मुर्त रुपदिनका लागि नेपाल आएका अमेरिकी सेनाका प्रतिनिधिहरुको विषय ।

कुमारी अवस्थामै आमा बन्न विवश निहारिका राजपुत साढे दुई वर्षदेखि चिच्याइ चिच्याइ भन्दैछिन् – म १७ वर्षकी नाबालिग हुँदाखेरि नै मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । परिणाम म गर्भवती बन्न पुगे । जुन बच्चा/छोरा अहिले २१ महिनाको भैसक्दा सम्म मैले न्याय पाउन सकेको छुइन । न्यायको खोजिमा मैले न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोग लगायतका सबै संस्थाहरुको ढोका ढकढक्याए तर कतैबाट पनि सहयोग प्राप्त भएन । बरु उल्टै जहाँ जहाँ पुगे पनि मलाई नै गलत देखाइयो, र पीडकलाई सफाई दिइयो ।

कुमारी आमा निहारिकाले मेरो साथमा रहेको यो बच्चाको डिएनए टेस्ट गरिनु पर्छ भन्ने माग राखेकी छन् । उनले यो बच्चाको बाउ फलानो व्यक्ति नै हो भनेर स्पष्ट रूपमा भन्दै गर्दा हाम्रो समाज तथा सम्बन्धित न्यायलयले यो कुरालाई किन पुष्टि गर्न सकिराखेको छैन ? अर्थात त्यो २१ महिने बच्चाको बाबुको पहिचान अहिलेसम्म किन हुनसकिराखेको छैन ? यो कुरालाई पुष्टि गर्ने प्रविधि नै हाम्रो देशमा नभएको त पक्कै पनि होइन होला ! यदि त्यसो होईन भने, यो विषय किन यति लामो समयदेखि अल्झिएर बसेको छ ? कित निहारिकाको दावा गलत हो अर्थात शिवराज श्रेष्ठ त्यो बच्चाको बाउ हैनन् भनेर हाम्रो न्यायलयले स्पष्ट पार्न सक्नु पर्यो ।

पीडक र पीडित बिचमा अन्य विषयहरुमा सहमति सम्झौता जुट्न नसक्नुलाई स्वभाविक पनि मान्न सकिन्छ । तर १७ वर्षको उमेरमा बलात्कृत भएर अविवाहित अवस्थामा नै आमा बन्न पुगेकी निहारिकाले यो बच्चाको बाबु फलानो व्यक्ति हो भनेर स्पष्टसंग देखाउदै गर्दा पनि हाम्रो समाज तथा न्यायलयले यतिन्जेल सम्म उक्त बच्चाको बाउको पहिचान गर्न इन्कार गर्दै आएको यो घटनाले म जस्ता कयौँलाई पक्कै पनि झस्काएको हुनु पर्छ ।

हाम्रो देश तथा समाजमा यो घटना त एउटा उदाहरण मात्र हो । पछाडि फर्केर हेर्ने हो भने राजनीतिक शक्तिको दुरुपयोग र आर्थिक चलखेलका कारण अन्यायमा परेका वा अन्याय सहेर बस्नु परेका यस्ता अनेकौँ उदाहरणहरु भेटिने छन् ।

हाम्रो देश स्वाधीन भएर के गर्नु, हाम्रो न्यालय तथा हामीलाई न्याय निसाफ दिनेहरु स्वाधीन छैनन् । हाम्रो प्रशासनिक निकाय तथा प्रशासकहरु स्वाधीन छैनन् । हाम्रा अधिकांस सांसद, नेता, मन्त्रीहरुलाई देशी विदेशी दलाल तथा विचौलियाहरुले आफ्नो मुठ्ठिमा राखेका छन् । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गराएको विषय पनि हाम्रो देशमा विचौलियाहरु कति सम्म शक्तिशाली हुँदारहेछन् भन्ने कुराको एउटा उदाहरण हो । र यो सबै कुराको प्रतिकुल प्रभाव हाम्रो देशको सिङ्गो राज्य संचालन प्रणालीमा पर्ने गरेको छ । जसले गर्दा राज्यका अधिकांश आमनागरिक सधैं निरीह तथा उदासीन भएर बस्नु परेको अवस्था छ ।

हाम्रो देशको अहिलेको यस्तै अवस्थाका कारण आज बलात्कृत निहारिका जस्ता पीडितहरुले न्यायको माग गर्दै अनशन बस्नु परेको छ । हाम्रा किसान आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरुले मल बिउ प्राप्त गर्नका लागि पनि अनशन आन्दोलन नै गर्नु पर्ने अवस्था छ । यसै गरेर भोली हाम्रा विध्यार्थी भाइबहिनी तथा छोराछोरीहरुले पाठ्यपुस्तक प्राप्त गर्नका लागि पनि अनशन बस्नु पर्ने दिन नआउला भनेर भन्ने सकिने अवस्था रहेन ।

यसो भन्दै गर्दा, एउटा नविर्सनु पर्ने कुरा के हो भने, आज देश भित्र यस्तो अवस्थाको सिर्जना हुनमा हाम्रा राजनीतिक दलका नेताहरु जति जिम्मेवार छन्, हामी आमनागरिकहरु यसका लागि अझ धेरै जिम्मेवार छौँ । किनभने अझै सम्म पनि राजनीतिक दलका नेताहरुले हामी आमजनतालाई उनिहरुको गोठमा बाँदिएको गाई वस्तु ठान्ने गरेका छन् र हाम्रो मताधिकारको दुरुपयोग गर्दै आएका छन् ।

हामी आमनागरिकको सबै भन्दा ठुलो हतियार भनेकै हाम्रो मताधिकार हो । यदि हामीले हाम्रो मताधिकारलाई सचेत रूपमा अर्थात सही ढङ्गले प्रयोग गर्न सक्ने हो भने, राजनीतिक दलहरुको एकाधिकार र यो संग जोडीएका भ्रष्टाचार लगायतका बेथितिहरुलाई पक्कै पनि क्रमिक रुपले मेटाउदै लैजान सकिने छ ।

यसको सुरुवात हामीले गएको स्थानिय चुनावमा दलहरुले उठाएका भ्रष्ट उम्मेदवारहरुलाई बेवास्ता गर्दै देशको राजाधानी लगायतका प्रमुख शहरहरुमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताएर गरिसकेका छौँ । यसैगरेर, आगामी मंसिरमा हुनेभनिएको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा हामीले अझ धेरै संख्यामा योग्य तथा क्षमतावान् स्वतन्त्र उम्मेदवारहरुलाई जिताएर पठाउन सक्नु पर्छ । हाम्रो मताधिकारको सही प्रयोगले योग्य उम्मेदवारहरु चुनिएर देश तथा आमजनताको पक्षामा राम्रो काम गरेर त देखाउने नै छन् संगसंगै यसले राजनीतिक दलहरुलाई पनि सचिन सुध्रन बाध्य तुल्याउने छ ।

भद्रपुर–झापा (हाल दोहा–कतार)
dhakalrp@gmail.com

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस