२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

अबुधाबीमा सहिष्णुताको राष्ट्रिय उत्सव – २०२५ : नेपालको पनि सहभागिता रहने

अन्तर्राष्ट्रिय सहिष्णुता दिवसको अवसरमा युएईको सहिष्णुता तथा सहअस्तित्व मन्त्रालय (Ministry of Tolerance and Coexistence) ले महामहिम शेख नह्यान बिन मुबारक अल नह्यानको संरक्षकत्वमा यही नोभेम्बर १४ देखि १६, २०२५ सम्म अबुधाबीस्थित उम्मुल एमारात पार्कमा “सहिष्णुताको राष्ट्रिय उत्सव-२०२५ आयोजना गर्ने भएको छ।

“ह्यान्ड इन ह्यान्ड (हातमा हात)” भन्ने नारासहित आयोजना हुने यस उत्सवमा नेपाली राजदूतावास, अबुधाबीले पनि नेपालको प्रतिनिधित्व गर्दै नेपालको पर्यटन प्रवर्द्धनात्मक स्टल राख्ने, सांस्कृतिक झाँकी देखाउने र विशेष सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने तयारी गरेको छ।

नेपालको सांस्कृतिक कार्यक्रम शनिबार, १५ नोभेम्बर २०२५ का दिन अपरान्ह प्रस्तुत गरिने दूतावासले जनाएको छ।

तीन दिनसम्म चल्ने यस उत्सवमा विभिन्न राष्ट्रका पर्यटन, कला र संस्कृति झल्काउने कार्यक्रमहरू, ग्लोबल हेरिटेज शोकेस, कला प्रदर्शनीहरू र अन्तर्राष्ट्रिय सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीहरू पनि समावेश हुनेछन्।

दूतावासले युएईमा रहेका सबै नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई उक्त उत्सवमा सहभागी भई नेपालको पर्यटन, कला र संस्कृतिको प्रवर्द्धनमा योगदान दिनु साथै सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको सन्देश फैलाउन आग्रह गरेको छ

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस