२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

कतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला

दोहा, कतार।

कतारमा कार्यरत एसियन आप्रवासी श्रमिकहरूलाई लक्षित गर्दै आगामी अक्टोबर ३० तारिखका दिन बृहत् ‘एसियन मेडिकल क्याम्प २०२६’ आयोजना हुने भएको छ। कतार सरकारको स्वास्थ्य मन्त्रालय (MoPH) र हमद मेडिकल कर्पोरेसन (HMC) को मातहतमा रहने गरी यो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।

कतारमा क्रियाशील विभिन्न देशका सामुदायिक संस्थाहरूको समन्वयमा हुने यस अभियानमा नेपाली समुदायको सहजीकरण र सह-आयोजनाको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारले पाएको छ। अक्टोबर ३० तारिख शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने शिविरमा कतारस्थित नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा आम सर्वसाधारणलाई आमन्त्रण गरिएको अनेमुस कतारले जनाएको छ।

शिविरमा सहभागी हुने आप्रवासीहरूका लागि पूर्ण शारीरिक जाँच (Full Body Check-up), रगत तथा पिसाब परीक्षणका लागि अन-साइट प्रयोगशालाको व्यवस्था गरिएको छ। यसका साथै इसिजी, इको, अल्ट्रासाउन्ड, अडियोमेट्री (श्रवण शक्ति) परीक्षण र फिजियोथेरापी सेवा समेत निःशुल्क उपलब्ध हुनेछ।

शिविरमा मुटु, छाला, मूत्ररोग, नाक-कान-घाँटी, मिर्गौला, आँखा, हाडजोर्नी र जनरल मेडिसिनका वरिष्ठ विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको प्रत्यक्ष जाँच गर्नेछन्। चिकित्सकको सिफारिस बमोजिम शिविरस्थलबाटै निःशुल्क औषधि वितरण गरिने र थप उपचार आवश्यक पर्ने बिरामीलाई हस्पिटल रेफरल तथा फलो-अप सहायता प्रदान गरिने आयोजकले जनाएका छन्। स्वास्थ्य जाँचका अतिरिक्त क्याम्पमा विशेषज्ञहरूसँग स्वास्थ्य सचेतना अन्तरक्रिया हुनुका साथै सहभागीहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ।

स्वास्थ्य शिविरकै अवसरमा हमद मेडिकल कर्पोरेसनको ब्लड डोनेसन युनिटसँगको साझेदारीमा बृहत् रक्तदान कार्यक्रम तथा अङ्गदान दर्ता डेस्क समेत सञ्चालन गरिनेछ।

अनेमुस कतारका अनुसार शिविरलाई व्यवस्थित बनाउन र भीडभाड कम गर्नका लागि अग्रिम नाम दर्ता अनिवार्य गरिएको छ। कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आयोजकले उपलब्ध गराएको आधिकारिक गुगल फर्मको लिङ्क (forms.gle) मार्फत आफ्नो विवरण र अनुकूल समय (Time Slot) छनौट गरी नाम दर्ता गर्न सक्नेछन्।

व्यस्त दैनिकी वा आर्थिक कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नपाएका सम्पूर्ण नेपालीहरूलाई यस ऐतिहासिक निःशुल्क शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन अनेमुस कतारले हार्दिक अपिल गरेको छ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस