दोहा, कतार। प्रवासमा रहेका सुनसरीवासी मुस्लिम समुदायबीच आपसी एकता, भाइचारा, सामाजिक सद्भाव र आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित सुनसरी मुस्लिम समाज कतारद्वारा आयोजित भव्य वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कतारको अल दोसरी पार्क, शहानियामा २० नोभेम्बर २०२६ शुक्रबार आयोजित उक्त कार्यक्रममा करिब ५०० जनाको उत्साहजनक सहभागिता रहेको थियो।
समाजका अध्यक्ष महफुज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोहेल नदवी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन हाफिज जियाउद्दिन र समाजका महासचिव शमशाद अन्सारीले गरेका थिए।
कार्यक्रमको सुरुवात अदनान असिरद्वारा पवित्र कुरआन शरीफको तिलावतबाट गरिएको थियो। त्यसपछि नेपाल र कतारको राष्ट्रिय गान प्रस्तुत गर्दै कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाइएको थियो। कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष हसन अन्सारीले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि, अग्रज तथा सम्पूर्ण सहभागीलाई स्वागत गरेका थिए।
कार्यक्रम संयोजक मुख्तार आलमले समाजको स्थापना, उद्देश्य, सामाजिक योगदान तथा भावी योजनाबारे विस्तृत रूपमा प्रकाश पारेका थिए। उनले संस्थाको उद्देश्य केवल भेटघाट र मनोरञ्जनमा सीमित नरही कतारमा रहेका सुनसरीवासी मुस्लिम समुदायलाई एउटै साझा मञ्चमा गोलबद्ध गर्दै आपसी सम्बन्ध, एकता र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउनु रहेको बताएका थिए।
उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, कार्यसमिति, उपसमिति तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै ‘हामी जुट्नुपर्छ, हामी एकअर्कालाई चिन्नुपर्छ’ भन्ने मूल नारालाई विशेष जोड दिएका थिए। समुदायबीच आपसी चिनजान, सहकार्य र एकताबिना सामाजिक उद्देश्य हासिल गर्न कठिन हुने उनको भनाइ थियो।
त्यसैगरी समाजका अध्यक्ष महफुज आलमले संस्थाको उद्देश्य, वर्तमान गतिविधि तथा समसामयिक सामाजिक विषयमा आफ्नो धारणा राखेका थिए। उनले समाजलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउन सबैको साथ, सहयोग र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा महासचिव शमशाद अन्सारीसहित निजामुद्दीन नदवी, नईमुद्दीन नोमानी, सुहेल नदवी, सिबगतुल्लाह नदवी, हमिद खान, सद्दाम हुसैन दुहबी, रिजवान आलम, जावेद आलम र जमिल नूरीलगायत वक्ताहरूले आ–आफ्ना विचार व्यक्त गरेका थिए। उनीहरूले समुदायबीच एकता, आपसी भाइचारा, सामाजिक सद्भाव, सहयोग र संस्थागत एकजुटताको आवश्यकतामाथि जोड दिएका थिए। साथै यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच आत्मीयता, अपनत्व र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष खानपिन व्यवस्थापन समितिले अत्यन्त व्यवस्थित तयारीका साथ विभिन्न स्वादिष्ट परिकारको व्यवस्था गरेको थियो। समितिका सदस्यहरूको मेहनत, समर्पण र सामूहिक सहकार्यका कारण सहभागीहरूले पारिवारिक तथा आत्मीय वातावरणमा वनभोजको आनन्द लिने अवसर पाएका थिए।
यसै अवसरमा रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै महत्वपूर्ण योगदान पुर्याउने सुनसरी मुस्लिम समाजका सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो। साथै समाजका विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा उल्लेखनीय योगदान पुर्याउने कार्यसमिति सदस्य तथा अन्य सहयोगी व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। यसले सामाजिक सेवामा योगदान गर्ने व्यक्तिहरूको हौसला बढाउनुका साथै आगामी दिनमा पनि सेवामूलक गतिविधिमा सक्रिय रहन प्रेरणा प्रदान गरेको थियो।
वनभोज कार्यक्रमलाई थप मनोरञ्जनात्मक र स्मरणीय बनाउन विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिएको थियो। सहभागीहरूले ती गतिविधिमा उत्साहपूर्वक भाग लिँदै आपसी परिचय, मित्रता र आत्मीयता साटासाट गरेका थिए।
समग्रमा, सुनसरी मुस्लिम समाज कतारद्वारा आयोजित उक्त कार्यक्रम केवल वनभोज र मनोरञ्जनमा मात्र सीमित नरही प्रवासमा रहेका सुनसरीवासी मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण सामाजिक अवसरका रूपमा स्थापित भएको थियो। विशेषगरी व्यस्त प्रवासी जीवनका बीच आफ्नै समुदायका दाजुभाइबीच भेटघाट, अनुभव आदानप्रदान, आपसी सहयोग र सम्बन्ध विस्तार गर्ने अवसरले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। साथै नयाँ पुस्तालाई सामाजिक गतिविधि र संस्थागत अभियानसँग जोड्नसमेत कार्यक्रमले सकारात्मक सन्देश दिएको थियो।
- उपस्थित सम्पूर्ण दाजुभाइहरूप्रति हार्दिक आभार व्यक्त गर्दै एकता, भाइचारा, सामाजिक सद्भाव र सेवाभावलाई आगामी दिनमा पनि विभिन्न रचनात्मक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने समाजले प्रतिबद्धता व्यक्त गरेको छ । अन्तमा कार्यक्रम संयोजक मुक्तार आलमले समुदायको सामूहिक एकता र सहकार्य नै संस्थाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका थिए हुने आन्तरिक खेलकुदको संयोजन गुफरान अन्सारीले गरेका थिए ।
