दोहा,
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसीसी) कतार र नशिम मेडिकल सेन्टरबीच भएको सहकार्य अनुसार कतारमा बसोबास गर्ने नेपाली समुदायका लागि विशेष स्वास्थ्य सेवामा छूटको व्यवस्था गरिएको छ। उक्त सहकार्यअन्तर्गत कतारमा रहेका सबै नेपालीले नशिम मेडिकल सेन्टर तथा नशिम डेन्टल सेन्टरका विभिन्न सेवामा सहुलियत दरमा उपचार सुविधा लिन सक्नेछन्।
समझदारी अनुसार नशिम मेडिकल सेन्टरमा सामान्य परामर्श शुल्क ३० कतारी रियाल, विशेषज्ञ परामर्श ४५ कतारी रियाल र कन्सल्टेन्ट विशेषज्ञ परामर्श ७५ कतारी रियाल तोकिएको छ। साथै सुपर स्पेसलिष्ट परामर्शमा ३० प्रतिशतसम्म छूट प्रदान गरिनेछ। यसका अतिरिक्त सिटी स्क्यान तथा एमआरआईमा १५ प्रतिशत, ल्याब, एक्स–रे र अल्ट्रासाउन्ड सेवामा ३० प्रतिशत, डेन्टल तथा डर्माटोलोजी उपचारमा १५ प्रतिशत, कस्मेटिक डेन्टल तथा डर्माटोलोजी प्रक्रियामा १० प्रतिशत र जनरल एनेस्थेसियाअन्तर्गत भर्ना हुने उपचार (GA IP) मा ३० प्रतिशतसम्म छूट उपलब्ध हुनेछ।
यी सेवाहरू नशिम मेडिकल सेन्टरका सी–रिङ, अल रय्यान, अल वक्रा र अल खोर शाखाहरूबाट लिन सकिने जनाइएको छ।
त्यस्तै, नशिम डेन्टल सेन्टरमा विशेषज्ञ तथा जनरल डेन्टिस्ट परामर्श सेवा निःशुल्क उपलब्ध गराइनेछ। डेन्टल एक्स–रेमा २५ प्रतिशत, सामान्य डेन्टल उपचारमा २० प्रतिशत र कस्मेटिक डेन्टल उपचारमा १० प्रतिशत छूट प्रदान गरिनेछ। यो सुविधा नशिम डेन्टल सेन्टरका मुन्ताजा र अल अजिजिया शाखाहरूमा लागू हुनेछ।
एनआरएनए–एनसीसी कतारका तृतीय उपाध्यक्ष जहाँगीर आलमले यो सहकार्य कतारमा रहेका नेपाली समुदायको स्वास्थ्य पहुँच सहज बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले कतारमा बसोबास गर्ने हरेक नेपालीले यो सेवाको लाभ लिन सक्ने जानकारी दिएका हुन्।