
दोहा : भोजपुर सेवा समाज कतारले जुन १३ तारिख, शुक्रबारका दिन कतारको सनैया प्लाजा मलस्थित लालीगुराँस रेस्टुरेन्टमा “आन्तरिक भेटघाट तथा परिचयात्मक सहित प्रशिक्षण कार्यक्रम २०२५” अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।
वि.सं. २०१३ सालको अगस्ट ९ तारिखमा स्थापित, समाज कतारले “सामाजिक उत्थानको परिकल्पना” भन्ने मूल नाराका साथ निरन्तर सामाजिक कार्य गर्दै आइरहेको छ। जिल्लाका विभिन्न क्षेत्रमा सहयोग पु-याउँदै आएको यस संस्थाले प्रवासी भूमिमा पनि समुदायबीचको सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले नियमित कार्यक्रम गर्दै आइरहेको छ।
कार्यक्रम संस्थाका अध्यक्ष महेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार गोविन्द कटुवालको उपस्थिति रहेको थियो। त्यसैगरी संस्थापक सल्लाहकारहरू तेज कटुवाल, गोपाल बस्नेत, चिरञ्जीवी तिम्सिना, दिलीप पराजुली र टीका कार्कीहरूको विशेष सहभागिता थियो। उहाँहरू कार्यक्रमका प्रशिक्षकसमेत रहनुभएको थियो।
प्रशिक्षणको प्रमुख अंशहरू यसप्रकार थिए:
अर्जुन पौडेल (नेपाल पत्रकार महासंघ, कतारका उपाध्यक्ष): सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी।
तेज कटुवाल: संस्था, यसको औचित्य र परिभाषासम्बन्धी प्रशिक्षण।
दिलीप पराजुली (पत्रकार महासंघ कतारका महासचिव): सार्वजनिक वक्तृत्व कला, प्रस्तुति शैली, पूर्वतयारी र आत्मविश्वास वृद्धिसम्बन्धी विषयमा प्रशिक्षण।
साथै चिरञ्जीवी तिम्सिना, गोपाल बस्नेत र टीका कार्कीहरूले विविध विषयमा प्रशिक्षण दिनुभयो।
प्रशिक्षण प्रोजेक्टरमार्फत सञ्चालन गरिएको थियो। अन्त्यमातेज कटुवालले सहभागीहरूलाई प्रतिक्रिया फारम र पेन्सिल वितरण गर्नुभयो, जसमा भविष्यमा कस्ता विषयमा प्रशिक्षण लिन चाहनुहुन्छ भन्ने प्रश्नहरू समावेश गरिएको थियो।
सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनायो। कतारकी चर्चित गायिका गुना निशु मगरको मनछुने गायन प्रस्तुति र ईश्वरी केसी भण्डारी तथा अप्सरा राईको बेजोड स्वागत नृत्यले सहभागीहरूलाई मन्त्रमुग्ध बनायो।
कार्यक्रममा ११० जना सहभागी रहेको जानकारी गराइएको छ, जसमा ८५ भन्दा बढी भोजपुरेली दाजुभाइ, दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रह्यो।
कार्यक्रमका संयोजक उपाध्यक्ष/उपसमिति संयोजक तथा प्रचारप्रसार प्रमुख गुणराज कटुवाल रहनुभएको थियो भने सञ्चालनको जिम्मेवारी सचिव जीवन थापाले निर्वाह गर्नुभएको थियो।
भाग्यशाली पुरस्कार वितरण कार्यक्रममा विशेष आकर्षण रह्यो:पहिलो पुरस्कार: ३२ इन्चको स्मार्ट टिभी — विजेता: कला घिमिरे, स्मार्ट घडी: विजेता — शान्ता तिम्सिना र अनिता राई , पुरस्कारहरू संस्थाका अध्यक्ष, प्रमुख अतिथि, अन्य विशिष्ट व्यक्तित्व तथा संयोजकको हातबाट खादा सहित प्रदान गरियो। साथै, सबै सहभागीहरूलाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको सफलता सुनिश्चित गर्न दिनरात नभनी खटिनु हुने अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण कार्यसमिति सदस्यहरू, संखुवासभा पञ्चे बाजा समूह, अध्यक्ष राजेन्द्र खनाल तथा सिंगो टिमलाई पनि हार्दिक धन्यवाद प्रकट गरिएको थियो ।