
दोहा l गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बद्री केसीबाट आधिकारिता प्राप्त अधिवेशन समितिका संयोजक केशव कार्कीले मङ्गलवार साँझ दोहामा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
कतारमा रहेको एनआरएनए एनसीसिलाई पटक पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन संयोजक तोकेको थियो । सोहि जिम्मेवारी बहन गर्दै अहिलेसम्मका गतिविधिबारे जानकारी दिनका लागि गरिएको पत्रकार सम्मेलनमा वक्ताहरूले गन्तव्य एउटै भए पनि फरक फरक आचरण र विचारका कारण असहमति जनाएका समूहलाई घोचपेच आफ्नो बचाउ र पत्रकारहरूसँग चरम असन्तुष्टि पोखेका थिए।
मङ्गलवार राति आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अभियान्ताका रूपमा कमलमणि गुरागाईँले अहिलेसम्मको गतिविधिबारे जानकारी दिने क्रममा लिखित रूपमा तयार पारिएको आरोप प्रत्यारोप र बचाउ सहितको एनआरएन भित्रको विवाद र घटनाक्रम सम्बन्धमा जानकारी दिए l उनले आफ्ना भनाइ राख्ने क्रममा आइसिसीले मान्यता फिर्ता लिए सँगै रमेस् भट्टले नेतृत्व गरेको एनसीसी जिल्ला संस्था सरहको हैसियतमा पुगेको दाबी गरे l आइसिसीमा विवादमा रहेका मुख्य २ वटा अधिवेशन मध्ये अदालतको अन्तिम फैसला नआउँदा सम्म तटस्थ बस्ने र एनसिसि कतारले आफ्नै पोर्टल निमार्ण गरी अधिवेशन सम्पन्न गर्ने भन्ने निर्णय गर्ने तर एकताको अधिवेशनमा अध्यक्ष र महासचिव लगायत अन्य व्यक्तिहरू सहभागी हुँदै निर्णयका विरुद्धमा लागेको जिकिर गरे l
एनसीसी कतार विधान बमोजिम नचलेको, विधान संशोधन समितिले पेस गरेको विधानको मस्यौदामा भएका एनआरएनए आईसीसीसँग बाझिने गरी बनाइएको बुँदालाई सच्याई परिषद्मा पेस गर्नु पर्नेमा एनसीसीले नै आइसिसीको विधानसँग बाझिने निर्णय गरेको आरोपहरू लगाए l
एनसीसी कतारले मे २३ को परिषद् भेला जुन २७ सम्ममा सबैसँग सहमति कायम गरी सम्पन्न गर्ने गरी स्थगित गरेपछि सरोकारवालासँग छलफल घनिभूत रूपमा गर्नुपर्नेमा जुन २४ मा एनसीसीको बैठक जुम भर्चुअलमा बसी उल्टै परिषद् भेला जुन २७ भित्रमा गरिनु पर्नेमा जुलाई ४ मा सार्ने त्यो पनि विस्तृत छलफल नगरी धेरै सदस्यहरूको असहमतिको बाबजुद जबरजस्ती निर्णय सुनाइएको आरोप लगाएका छन् l आरोप उपर पत्रकारहरुले कसैले पनि यस बारेमा आवाज उठाएको नपाइएको र लिखित रूपमा कहीँ उजुरी गरेको भए प्रमाण पत्रकार सम्मेलनमा पेस गर्न अनुरोध गरेका थिए l जवाफमा गुरागाईँले छेउमा रहेका एनिसिसीका कार्यसमिति सदस्य शिव भुजेलको नाम लिए पनि के के मुद्दामा कति समय बोल्न नदिएको हो स्पष्ट पारेनन् l
एनआरएनए आइसिसीका उपाध्यक्ष राज रेग्मीको पहलमा उहाँको निवासमा२ पटक सम्म केही सराकारवालाहरुसँग छलफल गरी परिषद् सदस्यता कार्डमा अध्यक्षको हस्ताक्षर नराखी सङ्घको छाप मात्र राख्ने, आईसीसीसँग कुनै पनि एमओयु नगर्ने, पञ्जीकृत सदस्यता शुल्क नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने र नयाँ कार्यसमितिले नै शुल्कका सम्बन्धमा निर्णय गर्ने, नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने भनी लचकता अपनाइए पनि सहमति हुन् नसकेको सम्मेलनमा जानकारी दिइयो l
१८ मे मा एनसिसिलाई बाइपास गरी आइसिसीमा सदस्यता प्रमाणित गर्ने अधिकार माग्नुको कारण के हो भनी पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै गुरागाईँले आइसिसीको विधानमा उल्लेख भएको पञ्जीकृत सदस्यता शुल्क नबुझाउने भन्ने एनसीसीको निर्णय सही नभएको हुँदा २ जना राखिएको बताउँदै मुख्य गरी विश्वमा रहेका ९० देशले एमआइएस मानेको तर ५ देशले मात्र नमानेको र त्यो मध्य कतारले एमआइएसमा नजाने भन्ने कुरा स्वीकार्य नहुने बताए l उनले एमआईएसद्वारा पञ्जीकृत सदस्यता वितरण भई रहेको र आइसिसीले तोकेको समय भित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गर्न ११ औँ अधिवेशन आयोजक समिति निर्माण गरिएको बताए lकतारले निर्माण गरेको पोर्टलबाट निर्वाचन गरेमा २३-२५ कार्यकाल आइसिसीको रेकर्डमा नरहने दाबी गर्दै आफूहरूले गर्न लागेको अधिवेशनले त्यो इतिहास जोगाउने बताए l
सम्मेलनमा केही अभियान्ता तथा वक्ताहरूलाई धारणा राख्न समेत समय दिइएको थियो l आफ्ना धारणा राख्ने क्रममा एनआरएनए अभियान्ता करिम बक्स मियाले एनसीसी कतार चेन अफ कमान्डमा नचलेको जिकिर गरे l उनले अहिलेको अवस्था यस्तो बनिसकेको छ त्यसैले मिलेर पनि नमिलीकन आफ्नो आफ्नो बाटो जान सुझाव दिएका थिए । एनसीसी कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तादाले एनआरएनए आइसिसीका कतिपय मुद्दामा पत्रकारले नलेखेको भनी हलमा रहेका पत्रकार माथि खनिएका थिए l उनको आरोपको पत्रकार महासङ्घ शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठले खण्डन गरेका थिए l
नेपाली महिला समाज कतारका अध्यक्ष माया केसी, नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठले कतारको नेपाली समाज अलमल र दुई धारमा बग्न लागेको प्रति चिन्ता व्यक्त गर्दै सहमतिका साथ एक एनसीसी बनाएर अगाडी बढ्न आग्रह गरे l अधिवेशन संयोजक कार्की को सभापतित्वमा सम्पन्न सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै आफू समाज एक हुनु पर्ने र मिलेर अगाडी बढ्नु पर्छ भन्ने कुरामा अडिग रहेको बताए ।