२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

विदेशमा रहेका नेपालीहरुको नोट मात्र हैन भोट पनि चल्नु पर्छ

दोहा-विदेशमा रहेका नागरिकहरुलाई मताधिकार प्रदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम कतारमा सप्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो।

संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यता साथै नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुबेदीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

नेपाली राजदूतावास कतारको सभाहलमा सप्पन्न कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नागरिकहरुलाई देशको कानुन र संविधान बमोजिम विश्वको कुनै कुनामा बसेपनि निर्वाचन गर्न पाउने अधिकार राष्ट्रियमानव अधिकार आयोगको घोषणापत्रमा उल्लेख रहेको बताए।

विदेशमा रहेका नेपालीलाई मताधिकारका बारेमा निर्वाचन आयोगको तयारीका बारेमा जानकारी दिदै उनले सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले पहिलो चरणको काम सुरु गरेको जानकारी दिए।

झण्डै पाँच वर्षअघि नै नेपालको सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको थियो।

सहभागिहरुले निर्वाचन आयुक्त थपलियालाई प्रश्न गर्दै विदेशमा रहेका नेपालीहरुको नोट मात्र हैन भोट पनि चल्नु पर्न बताए।

२०७८ सालको जनगणना अनुसार झण्डै २२ लाख नेपालीहरू विदेशमा रहेका छन।

एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत तथा सचीव सन्तोष क्षेत्रीले सहजीकरण गरेको कार्यक्रममा आईसिसी,एनसीसीका पदाधिकारी,कतारमा स्थापित संघसंस्था प्रमुख तथा प्रतिनिधि पत्रकार,सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस