दोहा, कतार । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारको मूल आयोजनामा १२ वटा नेपाली मुस्लिम संस्थाको सहकार्यमा नेपालको संविधान दिवस दीप प्रज्वलन, खुशियाली तथा शुभकामना आदान–प्रदानसहित मनाइएको छ।
कार्यक्रमको अध्यक्षता अनेमुस कतारका अध्यक्षले गरेका थिए भने अनेमुसका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
मौलाना गुलाम नवीले कुरान तिलावत गरेपछि कार्यक्रम औपचारिक रूपमा उद्घाटन गरिएको थियो। त्यसपछि राष्ट्रिय गानसहित संविधान दिवसको शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रममा दीप प्रज्वलन तथा केक काटेर सहभागीहरूले संविधान दिवसको खुशियाली साटासाट गरेका थिए।
कतारमा पछिल्ला वर्षहरूमा संविधान दिवसका सार्वजनिक कार्यक्रमहरू तुलनात्मक रूपमा कम हुँदै गएको सन्दर्भमा आयोजित कार्यक्रममा १२ वटा नेपाली मुस्लिम संस्थाका अगुवासहित एनआरएनए आईसीसी तथा एनसीसीका पदाधिकारी, वैचारिक संगठनका प्रतिनिधि, सामाजिक व्यक्तित्व, व्यवसायी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अनेमुस कतारका संरक्षकद्वय करिम बक्स मियाँ र मोहम्मद अजिज अली, एनआरएनए आईसीसी सचिव पदम गिरी, आईसीसी सहकोषाध्यक्ष बिमल सुवेदी, आईसीसी सल्लाहकार सागर नेपाल, एनआरएनए एनसीसी कतारका उपाध्यक्ष सन्तोष पौडेल तथा नेपाली महिला समाजकी उपाध्यक्ष मेनुका खतिवडा भण्डारीलगायतको उपस्थिति थियो।
त्यस्तै नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति कतारका उपाध्यक्ष ठाकुर परियार, नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चका अध्यक्ष अफसर अली खान तथा सामाजिक व्यक्तित्व चानक पोखरेललगायतले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए।

वक्ताहरूले विदेशमा रहेर पनि नेपाली नागरिकले संविधान, राष्ट्रियता र नागरिक अधिकारप्रतिको चासो तथा जिम्मेवारीलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। संविधान दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नराखी संविधानले प्रत्याभूत गरेका अधिकार, समानता, सामाजिक न्याय तथा नागरिक कर्तव्यबारे प्रवासमा समेत संवाद र सचेतना आवश्यक रहेकोमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रममा सहभागी मुस्लिम संस्थाका अगुवाहरूले नेपाली मुस्लिम समुदायसहित समग्र नेपाली समाजबीच आपसी सहकार्य, सामाजिक सद्भाव र साझा राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।
अनेमुस कतारले १२ वटा मुस्लिम संस्थालाई सहआयोजकका रूपमा एकै ठाउँमा ल्याएर आयोजना गरेको कार्यक्रमले नेपाली मुस्लिम समुदायबीच संस्थागत सहकार्य र एकताको सन्देशसमेत दिएको छ। आयोजकका अनुसार सामाजिक तथा राष्ट्रिय महत्वका विषयमा विभिन्न संस्थाबीच सहकार्य र समन्वयलाई निरन्तरता दिइनेछ।

कतारमा संविधान दिवसका अवसरमा नेपाली समुदायका तर्फबाट हुने सार्वजनिक कार्यक्रमहरू कम हुँदै गएको चर्चाका बीच अनेमुस कतारको आयोजनामा भएको यस कार्यक्रमले प्रवासमा संविधान दिवसको स्मरण र राष्ट्रिय विषयमाथिको सार्वजनिक संवादलाई निरन्तरता दिएको छ।
कार्यक्रमको समापनमा आयोजकले सहआयोजक १२ वटै मुस्लिम संस्था, एनआरएनए तथा अन्य नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, व्यवसायी, पत्रकार र सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको थियो।