२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एफएनजे कतार शाखाको १७ औ स्थापना दिवसमा बिषयगत वक्ता सरिता भण्डारीको धारणा(पूर्णपाठ)

नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा आयोजित १७ औं स्थापना दिवसको अवसरमा अतिथि वक्ताको रुपमा आमन्त्रित नेपाली महिला समाज की अध्यक्ष श्रीमती सरिता भण्डारी पौडेलले प्रस्तूत गरेको धारणाको सम्पादित पूर्ण पाठ:

राज्यको चौथो अंग हो पत्रकारिता , लोकतन्त्रको अभिन्न अंग हो पत्रकारिता , गणतन्त्रको संवाहक हो पत्रकारिता , आवाज विहिनहरुको आवाज हो पत्रकारिता र हराएकाहरुको खोज हो पत्रकारिता।

सत्य तथ्य घटनाहरुमा आधारित रहि संचार माध्यमबाट आम नागरिकहरुलाई जानकारी गराउनु नै पत्रकारिताको धर्म हो ।

आधा आकाश ढाक्ने महिलाहरुको अहिले पनि नेपाली पत्रकारितामा उपस्थिति न्यून छ । कतिपयले वि . सं . १९५० देखि नै नेपाली महिला पत्रकारितामा संलग्न हुन थालेका छन् भन्ने गरेतापनि प्रमाणले भने २००८ साल जेष्ठमा नेपाल महिला संघले प्रकाशित गरेको ‘महिला मासिक’ बाट नै नेपालको पत्रकारितामा महिलाको सहभागिता भएको देखिन्छ । यसको प्रकाशनद्वारा महिलाहरुलाई यस क्षेत्रमा पेशा बनाउन ऐतिहासिक प्रेरणा दिएको मानिन्छ ।

मुलुकमा प्रजातन्त्र आएसँगै पत्रकारितामा महिलाको सहभागिता क्रमश बढ्दै गयो । नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार देशभर कार्यरत कुल १३ हजार ५० जना पत्रकारहरु मध्ये १८ % अर्थात् दुई हजार ३५४ जना महिला पत्रकार छन् ।

नेपालको संविधानले ३३ % महिला सहभागिता सुनिश्चित गरेतापनि समान सहभागिता र समावेशिताको वकालत गर्ने संचार माध्यमले ३३% महिला सहभागिता सुनिश्चित गर्न सकेका छैनन् ।

पत्रकारितामा महिला सहभागिता सोंचेजस्तो नहुनुमा विभिन्न कारणहरु छन् :-
१. पुरुष प्रधान समाज र पितृसत्तात्मक सोंच- नेपाली महिलाहरु लामो समय चुलो र चौकामा नै सिमित रहे । तितो यथार्थ आज पनि महिलाहरु घरायसी काममा नै सिमित रहनुपर्छ भन्ने सोचबाट नेपाली समाज ग्रसित छ ।
२. रिपोर्टिङको क्रममा देशको विभिन्न ठाउँमा जानुपर्ने , पुरुष सहकर्मीहरु सङ्ग हिंडडुल गर्नुपर्ने हुनाले समाजले हेर्ने दृष्टिकोण अनि घर परिवारको साथ सपोर्ट नहुनुले पनि यश क्षेत्रमा महिला सहभागिता न्यून भएको पाईन्छ ।
३. त्यस्तै अन्य कारणहरुमा समाचार लेखेकोमा हत्या , डर र धम्की दिने,
४. लैङ्गिक दुर्व्यवहार,
५. महिला पत्रकारलाई कम जिम्मेवारी दिने ,
६. तलब भत्तामा विभेद ,
७. पेशामा रहन परिवारको असहयोग ,
८. तालिम अवसरमा विभेद ,
९. महिलालाई कमजोर ठान्ने प्रवृति आदि कारणहरुले महिलाहरु चाहेर पनि पत्रकारितालाई आफ्नो पेशा बनाउन चुनौतीपूर्ण छ । तथापि इतिहास र वर्तमानलाई हेर्ने हो भनें मिडिया क्षेत्रमा महिलाको सहभागिता क्रमिक रुपमा बढ्दै जानुलाई भनें सकारात्मक संकेतको रुपमा लिन सकिन्छ ।
१०. समाचार लेखेकै भरमा हत्या गरिएकी नेपालकी पहिलो पत्रकार उमा सिंघ उनी जनकपुर टुडे साथै एफ . एम हरुमा काम गर्दैगर्दा तराईका महिलाहरुले भोग्नुपरेको हिंसा र उनिहरुको अधिकारको लागि आवाज उठाएको कारण उनी बस्ने कोठामै पुरुषहरुको हुल आएर धारिलो हतियार विभिन्न ठाउँमा प्रयोग गरिएको र उनको हत्या गरिएको थियो । वास्तवमा महिलाहरुले भोग्नुपरेका यस्ता चुनौतीहरुलाई ध्यानमा राख्दै भौतिक र पेशागत सुरक्षा प्रदान गर्ने हो भने संचारमा महिला सहभागिता बढाउन सकिन्छ ।
११. अनुसन्धान अनुसार एक दिनमा एउटा पुरुषले ७००० शब्दहरु सोच्न सक्छन् भने महिलाले त्यसको ठिक डबल अर्थात् १४००० शब्दहरु सोच्न सक्ने क्षमता हुन्छ । प्राकृतिक रुपमै , जन्मजात नै लजालु हुँदैनन् तर उनिहरु हाम्रो समाजमा बढ्दै जाँदा समाजले उनिहरुलाई घरको चौघेरामै राख्न सिमित भएको कारण बिस्तारै उनिहरु लजालु बन्दै जान्छन् र बाहिरी वातावरणमा खुल्न लजाउँछन ।
१२. संचार माध्यममा महिला सहभागिता बढ्ने हो भने हाम्रो समाजमा घट्ने लैङ्गिकतामा आधारित हिंसा जस्ता कुराहरुमा आम बढी आवाज उठ्ने थियो । महिला हक अधिकारका बारेमा अझ बढी आवाज उठ्ने थियो र महिलाहरु अझ बढी सशक्त हुने थिए ।
१३. संचार माध्यममा महिलाको सहभागिता बढ्ने हो भने समाज र राष्ट्रलाई राम्रो टेवा पुग्ने थियो।

जुन घरमा महिलाको सम्मान हुन्छ, त्यो घर स्वर्ग सरी हुन्छ र घर , समाज र राष्ट्र गर्दै सिंगो संसार नै स्वर्ग बन्ने थियो । त्यसैले आउनुस तपाईं हामी सबै मिलेर महिलाहरुलाई सम्मान गर्दै हरेक क्षेत्रमा बराबरी सहभागिताको लागी प्रोत्साहन गरौं , साथ सपोर्ट गरौं ।

धन्यवाद।।

अध्यक्ष, महिला समाज कतार

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस