२०८२ कार्तिक २३ गते शनिवार | 2025 November 8th Saturday

विक्टोरिया गोल्ड एन्ड डायमन्ड : खुल्यो अल खोरमा पहिलो नेपाली गहना पसल

दोहा, कतार । कतारमा सुन–चाँदी व्यवसायमा सक्रिय विक्टोरिया गोल्ड एन्ड डायमन्डले अल खोरमा नयाँ शाखा विस्तार गर्दै पाँचौँ शाखा शुक्रबारबाट औपचारिक रूपमा व्यापार सञ्चालन सुरु गरेको छ। अल खोरको सफारी मार्केट नजिकै रहेको डाउन टाउनको ग्राउन्ड फ्लोरमा सुरु गरिएको यो शोरुमलाई अल खोरमा पहिलो नेपाली गहना पाउने पसलको रूपमा चिनिएको छ।

उद्घाटन कार्यक्रममा नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसी सहित समुदायका प्रतिनिधि, व्यवसायी, मिडिया तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। उपस्थित ग्राहकलाई विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइएको थियो।

अल खोरमा नेपालीको बाक्लो बसोबास भएकाले यस शाखाले स्थानीय नेपाली ग्राहकलाई थप सुविधा दिएको छ। सहभागीहरूले अब सुन–चाँदी खरिद गर्न दोहा धाउनुपर्ने झन्झट हटेको बताए। साथै, मासिक किस्ता जम्मा पारेर सुन लिन सकिने विशेष स्किम पनि उपलब्ध भएकाले थोरै आय श्रोत भएका मजदुरहरूका लागि सहज हुने सहभागीहरूको भनाइ छ।
नयाँ शोरुममा हरियो–रातो पोते, नौगेडी, मंगलसूत्र लगायत नेपालमा प्रचलित डिजाइनका गहना राखिएका छन्। झट्ट हेर्दा पोखरा वा काठमाडौंका गहना पसलमा पुगेको अनुभव हुने वातावरण शोरुममा भेटिन्छ।

व्यवसाय सुरु भएको पाँच वर्षमै १०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल विक्टोरियाले अल खोर शोरुममा २० जना कर्मचारी रहने जनाएको छ। कम्पनीका उत्पादनहरू दक्ष कारीगरहरूले आधुनिक ढंगले डिजाइन गर्ने भएकाले लोकप्रिय छन्। हाल कम्पनीले सिंगापुर, दुबई र स्विट्जरल्यान्डबाट सुन आयात गर्दै आएको छ।

कम्पनीका सञ्चालक मोहमद फैजल भिक्टोरियाले व्यवसाय विश्वासमै टिक्ने भन्दै नेपाली समुदायको साथ र विश्वासकै कारण विक्टोरिया ब्रान्ड निरन्तर विस्तार भइरहेको बताए।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस