
हरेक कालखण्डमा नेपाली काँग्रेसबारे ‘अब त काँग्रेस सकियो’ भन्ने भाष्य र भ्रम सिर्जना हुने गरेको छ। तर यथार्थ भने फरक छ—काँग्रेस सकिँदैन, किनभने यसको ऐतिहासिक भूमिका, सामाजिक आधार र संगठनात्मक संरचना नै त्यस्तो छ जसले दललाई निरन्तर जीवित र सशक्त बनाइरहन्छ।
नेपालको राजनीतिक इतिहासमा सात सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनसम्मका सबै ठूला आन्दोलनहरूमा काँग्रेस अग्रपंक्तिमा रह्यो। यसले लोकतान्त्रिक मूल्य–मान्यताको लागि निरन्तर संघर्ष गर्दै आएको छ। यही कारण काँग्रेसलाई केवल एउटा राजनीतिक दल मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको मेरुदण्डका रूपमा लिइन्छ।
काँग्रेसका विशेषताहरूमा सबैभन्दा महत्वपूर्ण पक्ष यसको मासबेस (जनआधार) हो। यो दल कुनै एक वर्ग वा समुदायमा मात्र सीमित नभई समाजका सबै तह, उमेर र पृष्ठभूमिमा रहेको छ। संरचनात्मक दृष्टिले पनि काँग्रेसमा तीन लेयर (पुस्ता) सधैं सक्रिय रहन्छन्, यो नै काँग्रेसको मूल विशेषता हो:
पहिलो पुस्ता, जसले पुराना आन्दोलनको नेतृत्व गर्यो; दोस्रो पुस्ता, जसले संगठनलाई निरन्तरता दियो; र तेस्रो पुस्ता, जसले नयाँ विचार र ऊर्जा बोकेको छ।
जब एउटा पुस्ता थाक्छ वा सकिन्छ भन्ने अवस्थामा पुग्छ, अर्को पुस्ता पहिले नै तयार भइसकेको हुन्छ। नयाँ पुस्ता जन्मिसकेको हुन्छ। यही निरन्तरताले काँग्रेसलाई कहिल्यै समाप्त हुन दिदैन।
“नेपाली काँग्रेसको शक्ति यसको तीन पुस्तामा निहित छ—पहिलो पुस्ताले आन्दोलनको नेतृत्वद्वारा लोकतन्त्रको जग बसायो, दोस्रो पुस्ताले निरन्तरताको धरोहर बोकेर संस्थागत विकासमा योगदान दियो, र तेस्रो पुस्ताले नयाँ विचार, ऊर्जा र दृष्टिकोणसहित भविष्यको बाटो खोल्दैछ। जब एउटा पुस्ता थाक्छ, अर्को पुस्ता तयार हुन्छ। यही निरन्तरताले काँग्रेसलाई समयको हरेक चुनौतीसँग जुध्दै कहिल्यै मर्न नदिने अमरशक्ति बनाएको छ।”
अहिले काँग्रेसमा पहिलो पुस्ता—सभापति देउवासहित—क्रमशः वहिर्गमनोन्मूख हुँदैछन् । यसैबीच नयाँ पुस्ता माथि आउँदैछ, जसले काँग्रेसलाई सम्हाल्नेछ। यही क्रमले केही समयपछि काँग्रेस फेरि देशलाई नेतृत्व गर्ने क्षमतासहित स्थापित हुनेछ।
हो, अहिले काँग्रेसभित्र असामन्जस्यता र प्रशवपीडाको अवस्था छ। तर यही उकुसमुकुस र संघर्षको घचघचाहटबाट नयाँ ऊर्जासहित काँग्रेस पुनः उभिनेछ।
त्यसैले, काँग्रेस सकिन्छ भन्ने कुरा केवल भ्रम हो। नेपाली समाज र राजनीतिलाई काँग्रेसकै नेतृत्वले फेरि अघि बढाउनेछ, इतिहासले देखाएजस्तै भविष्यले पनि त्यही पुष्टि गर्नेछ।