
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले आफ्नो कार्यकालको सुरुवातमै मन्त्रालय अन्तर्गतका प्रमुख अनुसन्धान र शैक्षिक संस्थाहरूमा व्यापक निरीक्षण गर्दै कार्यदक्षता र सुधारका लागि ठोस निर्देशनहरू दिएका छन्। मन्त्री पुनले सामाजिक सन्जाल फेसबुक मार्फत सो को जानकारी दिएका हुन्।
मन्त्री पुनले हिजो राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र, र पाठ्यक्रम विकास केन्द्रको विस्तृत अवलोकन गर्दै शिक्षा प्रणालीमा सुधार, अनुसन्धानमा लगानी, र पाठ्यक्रम अद्यावधिकका विषयमा नीतिगत निर्देशन दिएका हुन्।
नास्टमा करिब दुई घण्टा लामो छलफलपछि मन्त्री पुनले संस्थाको वार्षिक ३७ करोड रुपैयाँ बजेटमध्ये २७ करोड प्रशासनिक खर्चमा जाने र केवल १० करोड अनुसन्धानका लागि छुट्याइएको तथ्यलाई असन्तुलित भन्दै आलोचना गरे। उनले नास्टलाई “देशको उच्चस्तरीय अनुसन्धान केन्द्र” का रूपमा पुनःपरिकल्पना गर्न आग्रह गर्दै एक हप्ताभित्र सुधार योजना पेश गर्न निर्देशन दिए।
उनले भने, “भवन र ल्याब उत्कृष्ट छन्, तर त्यसअनुरूपको उच्चस्तरीय काम देखिँदैन। अब अनुसन्धानमै ध्यान दिनुपर्छ।”
त्यसपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा तीन घण्टा लामो छलफलमा मन्त्री पुनले शिक्षकहरूको दक्षता अभिवृद्धि, सेवाको मिलान, विद्यार्थी न्यून भएका विद्यालयहरूको विलय, र योग्य प्रधानाध्यापक नियुक्तिको राष्ट्रिय कार्यविधि तयार गर्न निर्देशन दिए। उनले अनलाइन शिक्षालाई प्रभावकारी बनाउन डिजिटल शैक्षिक सामग्री निर्माणका लागि छुट्टै कार्यक्रम बनाउन पनि निर्देशन दिए।
पाठ्यक्रम विकास केन्द्रको भ्रमणका क्रममा मन्त्री पुनले पाठ्यक्रमहरू समयानुकूल अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै नैतिक शिक्षा, जीवनोपयोगी विषय, इतिहास र संविधान सम्बन्धी ज्ञानलाई उच्च प्राथमिकता दिन निर्देशन गरे। साथै, मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग गर्न र आगामी शैक्षिक वर्षदेखि कक्षा ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य हुने भएकाले तत्काल पाठ्यक्रम विकास सुरु गर्न निर्देशन दिए।
यी भ्रमण र निर्देशनहरू मन्त्री पुनले मन्त्रालयभित्र “सिर्जनशील र कार्यदक्ष टोली” निर्माण गर्ने योजनाको प्रारम्भिक चरणका रूपमा व्याख्या गरिएको छ। उनले सामाजिक सञ्जालमार्फत केही दिनअघि आफू नयाँ टोली निर्माणमा व्यस्त रहेको र यस अवधिमा अनावश्यक फोन वा सन्देश नपठाउन जनतालाई अनुरोध पनि गरेका थिए।
मन्त्री पुनका यी कदमले शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा सुधार र रूपान्तरणको नयाँ अपेक्षा जगाएको छ। अब यी निर्देशनहरू कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्नेमा सबैको नजर केन्द्रित भएको छ