
पर्वत ,
पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी शनिबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ।
‘निस्वार्थ सेवामा हाम्रो पर्वत, राम्रो पर्वत’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको पर्वत समाज कतारले आफ्नो कर्मभूमि कतारका साथै गृहजिल्ला पर्वतमा विभिन्न मानवीय र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ। यो संस्थाले कतारमा नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको भए पनि आफ्नो गृहजिल्ला पर्वतमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो।
अध्यक्ष क्षत्रीले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबै पर्वतवासीलाई आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, “हामीले कतारमा लामो समयदेखि रक्तदान कार्यक्रम गर्दै आएका छौँ। यसपटक आफ्नै गृहजिल्लामा यस्तो पवित्र कार्य गर्न पाउँदा हामी उत्साहित छौँ। सबैलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।”
यसैगरी, गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष अजय विश्वकर्माले परिषद्ले सन् २०१७ मा गण्डकी प्रदेशका ९ जिल्लालाई समेटेर छाता संगठनको रूपमा स्थापना भएको जानकारी दिनुभयो। परिषद्ले कतारमा र गण्डकी प्रदेशका जिल्लाहरूमा विभिन्न सामाजिक र मानवीय कार्यहरू गर्दै आएको बताउँदै पछिल्लो समय रक्तदानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। परिषद्ले यसअघि कास्की र गोरखामा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको र म्याग्दीमा शुक्रबार र पर्वतमा शनिबार हुने रक्तदान कार्यक्रममा पनि आयोजकको रूपमा सहकार्य गरेको उहाँले बताउनुभयो।
कार्यक्रम संयोजक तथा पर्वत समाज कतारका उपाध्यक्ष भिमकान्त शर्माले छोटो समयको तयारीमा पनि सबै पक्षसँग सहकार्य गरेर रक्तदान कार्यक्रमको व्यवस्थापन भइरहेको जानकारी दिनुभयो। उहाँले सबैलाई रक्तदानमा सहभागी भएर मानवीय सेवामा योगदान गर्न आग्रह गर्नुभएको छ।
यो रक्तदान कार्यक्रमले पर्वत जिल्लामा रक्तसङ्कटको अवस्थामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, यस्ता कार्यक्रमले सामाजिक एकता र मानवीय सेवाप्रति सचेतना बढाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। रक्तदान कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई कुश्मामा आयोजना हुने उक्त कार्यक्रममा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।