दोहा (कतार), २२ साउन ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले फरक विचारको सम्मान गर्नु नै लोकतन्त्रको मूल आधार भएको बताएका छन्।
प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार दोहास्थित वेस्ट बेको सेन्ट्रा हलमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सांसद नेम्वाङले व्यक्तिपूजाको संस्कृतिले लोकतान्त्रिक मूल्य-मान्यतालाई कमजोर बनाउने बताए। असहमति र फरक मतलाई व्यक्तिगत शत्रुताका रूपमा नलिन आग्रह गर्दै उनले आत्मसमीक्षा र आत्मालोचना नै कुनै पनि हार वा कमजोरीलाई सच्याउने उत्तम उपाय भएको धारणा राखे।
पछिल्लो समय नेपाली राजनीतिमा ‘गत ३५ वर्षमा केही पनि भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गरेर समाजमा विखण्डन ल्याउने र ३५ वर्षको राजनीतिक उपलब्धिलाई अपहरण गर्न खोजिएको महसुस भएको उनले बताए। वि.सं. २०६२/६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य, माओवादी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र संविधान निर्माणमै लामो समय र स्रोत खर्च हुनुपरेको यथार्थ उल्लेख गर्दै उनले २०७२ सालपछि भएका विकास निर्माण जनताको अपेक्षा अनुसार पर्याप्त नभए पनि ‘केही हुँदै भएन’ भन्नु सरासर गलत भएको स्पष्ट पारे।
नयाँ राजनीतिमा आउने साथीहरूतर्फ लक्षित गर्दै उनले भने, “विगतका संघर्ष र व्यवस्था परिवर्तनपछि गाउँ-गाउँमा पुगेको विकास, बिजुलीको बत्ती र पिच बाटोमाथि उभिएरै ‘केही पनि भएन’ भन्दै भाषण गरिरहेको दृश्य विचित्रको छ।”
कुनै पनि राजनीतिक दललाई गालीगलौज नगरी संयमित शैलीमा प्रस्तुत भएका सांसद नेम्वाङले इतिहासका घटनाक्रमहरूलाई उल्लेख गर्दै भदौ २२, २३ र २४ गतेका दिनहरू नेपाली राजनीतिक इतिहासका मुख्य कारक दिनहरू भएको बताए। विशेष गरी २२ गतेको घटनालाई समेटेर समीक्षा गर्नु भनेको आत्मालोचनातर्फ सोच्नु पनि भएको उनको भनाइ थियो।
सम्बोधनका क्रममा उनले युवापुस्ताको जोस, जाँगर र अग्रजहरूको अनुभवको सही संयोजन नै लक्ष्य प्राप्तिको उत्तम विकल्प भएको बताए। उच्च शिक्षा वा डक्टरेट हासिल गर्दैमा मात्र व्यक्ति सक्षम नहुने उल्लेख गर्दै उनले नेतृत्वमा दक्षताभन्दा पनि निष्ठा र इमानदारिता महत्त्वपूर्ण हुने तर्क गरे। कानुन आफैँमा राम्रो वा नराम्रो नहुने भन्दै यसको प्रयोग कुन परिवेश र कहाँ गरिएको छ भन्ने कुरा मुख्य हुने उनले स्पष्ट पारे।
सामाजिक सञ्जालको सही प्रयोग हुनुपर्नेमा जोड दिँदै उनले एक-अर्कालाई गालीगलौज र दोषारोपण गर्ने संस्कारको अन्त्य गरी सधैँ आपसी सद्भाव कायम राख्नुपर्ने आवश्यकता औँल्याए। साथै, कतारमा कार्यरत नेपालीहरूले भोग्दै आएका भन्सार, मोबाइल तथा अन्य व्यावहारिक समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिबद्धता उनले व्यक्त गरे।
यसैबिच, अधिवेशनको बन्द सत्रले अफसर अलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
समारोह मञ्चका निवर्तमान अध्यक्ष चुनामणि कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शेषराज तिमिल्सिनाले गरेका थिए। कार्यक्रममा कतारस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो।