२०८३ असोज १ गते बिहिवार | 2026 September 17th Thursday

कतारमा QAD NET कम्पनीमा कार्यरत नेपाली श्रमिकद्वारा बाढी पीडितलाई १ लाख ६९ हजार बढी सहयोग

दोहा : नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (NRNA) कतार मार्फत आर्थिक सहयोग प्रदान गरिएको छ। एनआरएनए कतारका कार्यसमिति सदस्य भेष गुरुङको विशेष पहलमा उहाँ कार्यरत कम्पनी “QAD NET Company” मा कार्यरत नेपाली कामदारहरूले संयुक्त रूपमा सो रकम सङ्कलन गरी हस्तान्तरण गरेका हुन्।

​कम्पनीमा कार्यरत श्रमजीवी नेपालीहरूले स्वस्फूर्त रूपमा सङ्कलन गरेको कतारी रियल ४,०३३ (अक्षरेपी: चार हजार तेत्तीस) अर्थात् नेपाली रुपैयाँ १,६९,०२३/- (अक्षरेपी: एक लाख उनसत्तर हजार तेईस) रकम गैर आवासीय नेपाली संघ कतारका प्रतिनिधिहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको हो।

​मातृभूमिमा परेको प्राकृतिक विपत्ति र संकटको घडीमा विदेशमा रहेर पनि आफ्नो थोरै थोरै बचतबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा मलम लगाउने उद्देश्यले सो सहयोग रकम जुटाइएको अभियान्ता भेष गुरुङले जानकारी गराउनुभयो।

​रकम ग्रहण गर्दै एनआरएनए कतारका प्रतिनिधिहरूले विपत्तिको समयमा सबै नेपालीहरू एकजुट भई राहत तथा उद्धारमा जुट्नुपर्ने बताउँदै QAD NET Company मा कार्यरत सम्पूर्ण नेपाली कामदारहरू तथा पहलकर्ता भेष गुरुङप्रति हार्दिक आभार प्रकट गर्नुभयो। सङ्कलित उक्त रकम छिट्टै नै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी   दिइएको छ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस