दोहा, कतार । कतारमा कार्यरत नेपाली श्रमिकहरूको आपत्कालीन सहयोगार्थ ‘श्रमिक कल्याणकारी कोष’ स्थापना गर्ने पवित्र उद्देश्यका साथ आयोजना हुन लागेको बृहत् सांगीतिक उत्सवका लागि नेपालको सुप्रसिद्ध ‘लेकाली ब्यान्ड’ दोहा आइपुगेको छ । गण्डकी प्रदेश समन्वय परिषद् कतारको मुख्य आयोजना तथा परिषद्मा आबद्ध जिल्ला संस्थाहरूको सह-आयोजनामा हुन लागेको उक्त कार्यक्रममा प्रस्तुति दिन ब्यान्डको टोली बुधबार दिउँसो कतार अवतरण गरेको हो ।
बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सांगीतिक समारोहमा सहभागी हुन आएका कलाकारहरूलाई हमद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल बिक, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोशन अर्यालसहितका पदाधिकारीहरूले ब्यान्डको टोलीलाई स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिएलगत्तै ब्यान्डका सदस्यहरूले प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भएर रमाउन निमन्त्रणा दिएका छन् ।
आगामी शुक्रबार वकिरस्थित डीपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा गुञ्जिन लागेको यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । लोकलय, आधुनिकता र नेपाली मौलिकपनको अद्भुत फ्युजन पस्कँदै आएको पोखरेली लेकाली ब्यान्डले ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’, ‘सपनीमा’ र ‘कहाँबाट’ जस्ता आफ्ना कालजयी तथा सदाबहार गीतमार्फत दर्शकलाई झुमाउने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए ।
समारोहमा नेपालबाट आमन्त्रित ब्यान्डको मुख्य प्रस्तुतिसँगै कतारमै रहेका स्थानीय प्रतिभाशाली कलाकारहरूको गायन तथा नृत्यले समेत माहोल तताउनेछ । विशेषगरी गण्डकी प्रदेशको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्काउने विविध झाँकीहरू कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनेछन् ।
पुराना पुस्तादेखि नयाँ पुस्तासम्म उत्तिकै रुचाइएको लेकाली ब्यान्डको प्रत्यक्ष प्रस्तुति कतारवासी नेपाली संगीतप्रेमीहरूका लागि एक अविस्मरणीय र दुर्लभ अवसर बन्ने विश्वास आयोजक परिषद्ले लिएको छ ।