२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

क्यालेन्डरको आत्महत्या

वैशाख १ गते बिहानै
एउटा हतासको खबर आयो
एउटा श्रमिक क्याम्पमा
एक वर्षीय क्यालेन्डरले आत्महत्या गर्यो
तत्काल उठाइयो क्यालेन्डर
र पठाइयो पोस्टमार्टमका लागि
पोस्टमार्टम टोलीले पल्टायो पाना-पाना
र थाल्यो अनुसन्धान क्रम तुरुन्तै।

हरेक पानाको अन्तिम तारिकमा चहकियो
दाग भेटियो सायद
त्यो उसको महिनाभरिको खुसीको दिन हुनसक्छ
अड्कल गर्यो टोलीले
पल्टायो फेरि अर्को पानो
हरेक पानाको पहिलो तारिक
अर्को चहकिलो दाग भेटियो
सायद
परदेशमा कमाएको रेमिटेन्स
घर पठाएको संकेत हुनसक्छ यो
फेरि अड्कल गर्यो टोलीले।

पानाका बीच-बीचका गते र बारहरूलाई
चहकिला मसीले घेरा लगाइएको छ
सायद
ती दिनांकहरू उसका परिवारका हर सदस्यका
जन्मदिनका संकेतहरू हुन सक्छन्
कसैले आफूलाई घेरा भित्रको अङ्क सम्झेर घेरेको हुन सक्छ
मतलब कि
तिम्रा हरेक जन्मदिनहरू चाहेर पनि सँगै भएर मनाउन पाइनँ
र स्थिति घेरा हो र म घेरा भित्रको अंक
कसैले यही सोच्यो होला।

असोज ८ गतेको कोठामा सानो फिक्का थोप्लो मात्र भेटियो
यसको संकेत यो कसैको आफ्नै जन्मदिन हो
अरुका खुसीका लागि घोटिँदा-घोटिँदा
आफ्नो खुसी रित्तिएर कहिल्यै धर्सो
बन्न नसकेको थोप्लो हुनसक्छ यो
फेरि अड्कल गर्यो टोलीले।

क्यालेन्डरका पानाका मध्य पृष्ठतिर भेटियो
अलिकति रातो अबिरको छिर्का
दुई दाना राता चामलले थिचिएर झुन्डिएको
सुकेको पहेलो जमराको पात
मयुरको प्वाँख, बेलपत्र, तुलसीको पात आदि आदि
सायद
यही क्यालेन्डर नै दसैँ-तिहार, छठ, शिवरात्री
सबै सबैको प्रतीक थियो कसैको
तिनै अंक-अंक, दिन-दिन गनेर
बितेका हुनसक्छ कसैको चाडपर्व र घरका यादहरू
यही अन्दाज गर्यो टोलीले

वैशाख पुर्णे, माघे संक्रान्ती, फूलपातीजस्ता
केही पर्वहरूका अंक नराम्रोसँग कोतारिएको भेटियो
सायद यी तमसुकमा भएका भुक्तानी मिति हुनुपर्छ
बन्दकी राखेको लालपुर्जा निकाल्ने भाका हुनुपर्छ
क्यालेन्डरको अन्तिम पातो
निकै खुम्चिएको र भिजेको भेटियो
सायद
भाका नाघिसकेका ऋण चुक्ता गर्न नसक्दाको
नैराश्यताको प्रतिबिम्ब या
आँखाबाट पोखिएका आँसुले
भिजेको हुनसक्छ अन्तिम पातो

क्यालेन्डरको झुन्ड्याउने डोरीमा
अलिकति फलामको किलाको
खिया टाँसिएको छ
वर्षदिनसम्म क्यालेन्डर थामेर बसेको
किलाले मन थाम्न नसकेर
छुट्टिने बेला क्यालेन्डरलाई दिएको
मायाको उपहार होला यो
यही अन्दाज गर्यो टोलीले
अनि
अदालत पठाइयो तत्काल रिपोर्टसहित मृत क्यालेन्डर

अन्तमा
अदालतले फैसला सुनाइदियो
नयाँ वर्षको शुभकामना
हरेस नखानू
नयाँ सपना सहितको
नयाँ एक अंक थपेको अर्को क्यालेन्डर साक्षी राखेर
लगेर झुन्ड्याइदिनू यसलाई
त्यही भित्तामा
यो क्यालेन्डर अब क्यालेन्डर हैन
यो त परदेशीको कहानी भरिएको उपन्यास हो
परदेशीको दैनिकी भरिएको इतिहास हो।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस