२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

रोमाञ्चक भिडन्तमा नेपाल विजयी! कतारमाथि ५ रनको ऐतिहासिक जित

ओमान— आईसीसी टी-२० विश्वकप क्वालिफायर अन्तर्गतको सुपर सिक्सको महत्वपूर्ण खेलमा नेपालले कतारमाथि ५ रनको सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोटतर्फको यात्रा बलियो बनाएको छ। कप्तान रोहित पौडेलको कप्तानी पारी र स्पिनर सन्दीप लामिछानेको जादुई बलिङको मद्दतले नेपालले कडा टक्करको खेलमा कतारलाई पराजित गर्न सफल भयो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालको इनिङ्समा कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन (४१ बल) को कप्तानी पारी खेलेका थिए। यस्तै, दीपेन्द्र सिंह ऐरीले २६ रन र गुलशन झाले ८ बलमा १६ रन जोड्दै स्कोरलाई १४७ सम्म पुर्याउन मद्दत गरे। कतारका लागि मीरजा मोहम्मद बैग्ग र ड्यानियल आर्चर लुइसले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिएका थिए।

जवाफमा १४८ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा सबै विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो। कतारका लागि विकेटकिपर ब्याट्सम्यान इमाल लियानागेले ५६ रन र जुबैर अलीले ५२ रन बनाउँदै जित नजिक पुर्‍याएका थिए। तर, मध्यक्रममा नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि कतारले लगातार विकेट गुमायो र जितबाट ५ रनले पछि पर्‍यो।

नेपालको जितमा लेग स्पिनर सन्दीप लामिछाने नायक साबित भए। उनले केवल ३.५ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिएर कतारको ब्याटिङको मेरुदण्ड तोडिदिए। सन्दीपलाई नन्दन यादवले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएर भरपर्दो साथ दिए। अन्तिम ओभरसम्म पुगेको खेललाई नेपाली खेलाडीहरूले आफ्नो पक्षमा पार्दै विश्वकपको ढोका अझ नजिक पुर्‍याएका छन्।

यो रोमाञ्चक जितले नेपाली टोलीको उच्च मनोबललाई दर्साएको छ, जसले गर्दा विश्वकपमा छनोट हुने सपनाले थप गति पाएको छ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस