२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

नयाँ वर्षको शुभकामना

छन्द: पञ्चचामर

उमङ्ग, जोश ,साथमा नवीन वर्ष आउँदा
उराठिलो बिदा भयो वसन्त काल छाउँदा
गए झरेर जीर्ण पात पालुवा पलाउँदा
मुनाल नाच्छ कोइली सुरम्य गीत गाउँदा

घटा फुटेर अल्पिँदा हिमाल हाँस्छ शानले
चिसो बतास साथमा पहाड रम्छ घामले
सिचिञ्छ खेत फाँटका, तराइका गरागरा
हिमाल पग्लिँदा धरा बनिन्छ उच्च उर्वरा

भुलौँ सबै अतीतका अमित्र भाव भावना
मिलौँ सबै समाजमा बनेर फूल बासना
विषाक्त रोग – व्याधिको गरौँ मिलेर सामना
पुछेर आँसु आर्तको सिकाउँ मुस्कुराउँन

समस्त जीव सर्गका सधैँ सकौँ हँसाउँन
थुतेर रोग जीवको सधैँ सकौँ बँचाउँन
हटाइ क्रोध चित्तको जगाउँ दिव्य चेतना
नवीन सौर्यवर्षको यही छ दिव्य कामना

खेमराज सुवेदी

हाल: कतार

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस