२०८१ चैत्र १ गते शनिवार | 2025 March 15th Saturday

लघुकथा :- अहंमता

मीठो स्वरका धनी थिए उनी। उनका गीत टेलिभिजन, रेडियोमा दैनिक बज्न थालेपछि उनले आफ्नो माग ह्वात्तै बढाए। कामको भ्याई नभ्याई थियो, उनलाई।

‘नाम चलेको गायक’को उपाधी पाएपछि उनलाई देश बिदेशबाट पनि अफर आउन थाल्यो। मोटो रकम पाउने र दर्शकको अपार माया पनि पाउने हुँदा उनले विदेशका कार्यक्रमलाई बढी महत्त्व दिन थाले।

‘आफ्नो नामको कारणले दर्शक हलसम्म खिचिने’ भन्दै उनले आयोजकलाई थप माग र सर्त राखेर दु:ख दिन थालेका थिए। उनको यो क्रियाकलापले कतिपय आयोजकहरू रुष्ट हुँदै गइरहेका थिए।
उनलाई नेपाली बाहुल्यता भएको देशमा पुन: मगाइयो । माग र सर्त पूरा गरे आयोजकले। कार्यक्रम भव्यरुपले सफल भयो। केही बेरमा कलाकारहरू बाहिर निस्किए। प्रशंसकहरू आएर घेर्ने छन् अनि अँगालो हालेर आलोपालो फोटो खिचाउनेछन् भन्नेमा ढुक्क थिए, उनी। तर अहँ ! , उनको छेउमा एउटा पनि प्रंशसक आएन । भिड अन्तै केन्द्रित थियो।

उनको अनुहार हेर्न लायकको देखिन्थ्यो। पब्लिक उनका पुराना बासीगीत सुन्न मात्रै आएका थिएनन् । यसपटकभने सुपरहिट फिल्मका एक्सन नायक आएका थिए।

हाल : मलेसिया

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस