२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

छोरा -थाहा छैन मलाई तिमी माया गर्छौ या गर्दैनौ

थाहा छैन मलाई तिमी माया गर्छौ या गर्दैनौ !
चिन्छौ मन भित्रै बाट वा चिन्दैनौ !!
म माफी चाहन्छु ,
तिमी असल छोरा हौ तर म असल बाउ हैन !

मैले तिमिलाइ मेरो बाबाले मलाइ हुर्काए जस्तो हुर्काउन सकिन !
न त काधमा बोकेर गाउँ बेसि गराउन पाए !
न त तिम्रा ती साना नरम पाखुरा पक्रेर,
ललि पप किनिदिन प•••••र स्याउली बजार सम्म लैजान सके !
न सके ती तिम्रा कलिला चोरी औलाको बीचमा पेन्सिल थमाएर बारखरि सिकाउन !

म अहिले अफसोच गरिरहेछु ,
म त्यो चुच्चे परेको तिम्रो नाक माथी मेरो आफ्नो नाक दलेर कति जिस्किन चाहन्थे।!

चाहन्थे , रानी भ्यागुताको जस्तो भुक्क परेको तिम्रो त्यो पेटमा काउकुती लगाउदै खित्का छोड्न !
तर यो परदेशमा यो कमलो मन यति बाधियो कि,
रहर तिमी सङ हैन पैसा सङग साटिदैछ !

मलाइ पश्चाताप छ,
रात भरी तिमीलाई हनहनि ज्वरो आउदा,
यी छिप्पिएका हत्केलाले तिम्रो फराकिलो निधार छाम्न सकेन !
न त सके यी खस्रा हातले तिम्रो
कमलो शरीरको लागि मलाई मेरो बाबाले बुनि दिए जस्तो बाँसको नरम चोयाको कोक्रो बुनिदिन !
न सक्यो यो हातले
तिमीले मन पराए जस्तो कागजको फिर्फिरे र चङ्गाको लट्टाइ सम्म बनाइदिन !
न सक्यो नै यो दरो ढाड्ले तिमिले चाहे जस्तो घोडा बनेर तिमीलाई बोकि हट हट गर्दै पर हरियो दुबोको चौर माथी घिस्रन !

मलाइ थाहा छ ,
तिम्रो हरेक चाहनाहरु तिम्रो आमाले सधै बजारबाट खरिद गरि रहिन !
मलाई थाहा छैन ,
तिम्री आमाले बजारबाट खरिदेका ती कृत्रिम चाहनाहरुमा बाबाको कुनै गन्ध पायौ वा पाएनौ ?

म अहिले सम्झी रहेछु ,
बाबा त त्यस्तो हुनु पर्थ्यो ,
जस्ले न एक मुठी बाबियो बाटेर आगनको डिलमा डोरे पिङ झुन्ड्याइदिन सकोस !
र टिपेर ल्याइदिन सकोस तिमिले खसालेको साइकलको पाङ्गग्रो आगन मुन्तिरको साग वारिबाट !

म सोची रहेछु ,
मेरो बाबाले मलाई मनाइदिएको जस्तो दसै तिमीलाई मनाइ दिन सकिन !
न त सके दसौ बर्ष सम्म
तिम्रो त्यो कलिलो निधारमा ढपक्क ढाक्ने टीका

कमलो च्याउ जस्तो तिम्रो कान माथी पहेलै छ्पक्क जमरा सिहुरिदिन !

मलाई यो पनि थाहा छैन ,
तिम्रो बिछोडिएको मनले
बाटो मा गुडिदै गरेका लाहुरेहरुका सुट्केश देख्दा
आफ्नो बाबाको बाटो हेर्न खोज्छ या खोज्दैन ?
या तिम्रो स्कुलको बार्सिकउत्सबमा बाबाको चोरी औला पक्रेर स्कुल गेट्मा उभिन खोज्छ मन या खोज्दैन !

छोरा ,
म अहिले परदेशमा तिम्रो इतिहास बर्तमान र भबिस्य पढ्दै छु !
तिमी जन्मेको खबर मैले परदेश मै सुने , थुप्रै लड्डु बाडे !
तिमी स्कुल जान थालेको खबरले प्रफुल्लित भएर थुप्रै रसबरि र बर्फी पनि बाडे पर्देश मै !!
तिमिले एस एल सि पास गर्‍येउ ,
त्यो खवर पनि मैले परदेश मै सुने !
त्यस पटक त मैले खसी नै ढाले क्याम्प भित्रै!
तिम्रा हरेक सफलताले मलाइ उत्साहित बनाउछ परदेशमा

थपी रहन्छ भिसाको म्याद बर्सै पिच्छे !

अहिले तिमी कलेज जाँदै छौ !
मलाइ थाहा छ,
अबका केही बर्ष भित्र तिमी अमेरिका या अस्टेलिया छिर्ने छौ उच्च शिक्षाको बहानामा !
तिम्री आमा तिमिलाइ पठाउन मान्ने छैनन
तर
तिम्रो समाजले तिमिलाइ दिने छैन घर बस्न !
जति बेला म परदेशबाट घर फर्केको हुने छु ,
र यी एक जोडि धमिला आखाले तिम्रो सहारा खोज्ने छ ,
त्यति बेला सम्म त तिमीले आफूलाई केही थान डलर का पत्ताहरु सङ बिक्रि गरिसकेको हुने छौ !
र बेला त्यस्तो आउने छ ,
जब मलाइ दमको बिमारले थला पार्ने छ ,
ठिक त्यसै बेला सायद
तिमी अमेरिकाको वा अस्टेलियाको पिआर मिलेको खुसियालीमा
कुनै डान्स बार भित्र रमिरहेका हुने छौ

भन्ने छौ मलाइ त्यही बाटै ,
“माइ लब्ली ड्याड- टेक किअर योर सेल्फ ”

धन्यवाद ।

तार्कुघाट , लम्जुङ
हाल – कतार

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस