२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

नो प्रँब्लम् सर

कुरा सन् १९९७ को हो । म त्यतिखेर साउदी अरबको साउदी आरामको, जेद्दा रिफाइनरी भित्र लाइब्रेरियनको रुपमा काम गर्थे । लाइब्रेरियन कुन अर्थमा भने हाम्रो कम्पनी अब्दुल रहमान अल–ओतेशनले जेद्दा रिफाइनरी भित्र रहेको पुस्तकालयलाई पुनः राम्रोसंग सबै व्यवस्थित बनाएर राख्नका लागि वर्कअडर पाएको थियो र मेरो कम्पनीले मलाई त्यो कामको जिम्मेवारी दिएर त्यहाँ खटाएको थियो । मेरो मुख्य भूमिका भनेको त्यहाँ भएका पुस्तकहरूको शेल्फवाइज लिष्ट तयार गरेर पुनः राम्रो संग व्यवस्थित गरेर राखिदिनु थियो । यो कामको लागि कम्पनीले मलाई आवश्यक सहयोग गर्न एउटा साथी पनि दिएको थियो ।

यो काम सुरुभएको मिती बाट ६ महिना भित्रमा पुरा गरिसक्नु पर्ने थियो । म त्यहाँ त्यसरी काम गर्न थालेको झन्डै ४ महिना जति वितेको थियो । मैले काम गर्ने लाइब्रेरि संगै जोडीएको अर्को टाङ्क्स् एण्ड इन्स्पेक्सन (टि एण्ड आइ) युनिटमा हाम्रो कम्पनीको तर्फबाट सप्लाइमा क्वँन्टिटी सर्वेयरको रुपमा काम गर्दै आएका श्रीनिवासन नाम गरेका एकजना इन्जिनियर साथीको इण्डियामा बुवा गम्भीर रुपमा बिरामी परेको खबर प्राप्त भएसंगै उनि इमर्जेन्सी लीभ (आकस्मिक बिदा) मा घर फर्कन्छन् ।

श्रीनिवासन त्यसरी आकस्मिक बिदामा घर फर्किए संगै हाम्रो कम्पनिले उनको ठाउँमा अर्को नयाँ इन्जिनियर खटाउनु पर्ने भयो । जसका लागि कम्पनीले एक पछि अर्को गर्दै दुईजना डिप्लोमा लेभलका इन्जिनियरहरुलाई पठायो, ति दुबैजना सुरुवाति इन्टरभ्युबाट नै बाहिरिए । अन्तमा कम्पनीले जिजो नाम गरेका केरेलाका एकजना सिभिल इन्जिनियर नयाँ व्यक्तिलाई पठाउने निर्णय गर्यो । र उनको इन्टरभ्युका लागि सम्बन्धित ठाउँमा पुर्याइ दिन वा लगेर परिचय गराइदिनका लागि मलाई अरायो । त्यसै अनुरुप भोली पल्ट जिजो र म संगै गयौँ । मैले जिजोलाई टाङ्क्स् एण्ड इन्स्पेक्सन युनिटका सिनियर सुपरवाइजर (आरमकोका इन्जिनियर) तारिक बज्रा सरको अफिसमा लगेर गए । तारिक बज्रा सुडानका भए पनि झट्ट हेर्दा सुडानको जस्तो नदेखिने, अलि–अलि श्वेतवर्णका अग्लो कद गरेका निक्कै प्रभावशाली छवि भएका व्यक्ति थिए । उनको आवाज पनि निक्कै मोटो र प्रभावशाली थियो ।

मैले जिजोलाई तारिक सरको अफिसमा पुर्याए, र तारिक सरलाई उनको नाम जिजो हो र उनलाई कम्पनीले श्रीनिवासनका ठाउँमा काम गर्न इन्टरभ्युका लागि पठाएको ब्यहोरा जानकारी गराए । त्यस पछि तारिक सरले, जिजो तिर हेर्दै – गूड मर्निङ्ग जिजो भनेर भने । जिजोले नो प्रँब्लम् सर भनेर जवाफ फर्काए । त्यस पछि तारिक सरले हाउ आर यु जिजो ? भनेर सोधे । जिजोले फेरि नो प्रँब्लम् सर भनेर जवाफ फर्काए । त्यस पछि तारिक सरले हाउ ओल्ड आर यु जिजो ? भनेर सोधे । जिजोले फेरि पनि नो प्रँब्लम् सर भनेर जवाफ फर्काए ।

जिजोले तेस्रो पटक पनि नो प्रोब्लम् सर भनेर जवाफ फर्काएको सुनेर तारिक सरले, ओके जिजो नो प्रँब्लम्, यु मे गो नाउ भनेर जिजोलाई फर्काए । जिजो संगै म पनि फर्किए र आफ्नो काममा लागे । भरे लंचटाइममा हाम्रो कम्पनीका म्यानेजर मुजाफर हुसेन (जो पाकिस्तानी थिए), म भएकोमा आए । मसंगै रहेका जिजोलाई तिम्रो इन्टरभ्यु कस्तो भयो भनेर सोधे । जिजो केही बोलेनन् । त्यस पछि उनले, त्यही प्रश्न म तिर फर्केर गरे । मैले इन्टरभ्यु के भयो त्यो त मलाई पनि थाहा भएन तर अन्त्यमा तारिक सरले जिजोलाई नो प्रँब्लम् जिजो यु मे गो नाउ भनेर फर्काए भनेर बिहान जिजो र तारिक सर विच भएको वर्तलावको अंश छोट्करिमा सुनाए ।

यो घटना पछि अरु दुई हप्ता सम्म यो विषय अथवा आकस्मिक बिदामा घर फर्किएका श्रीनिवासनको स्थानपुर्तिका लागि अर्को नयाँ व्यक्ति पठाउने बारेमा कुनै चर्चा भएन । सायद सबैलाई श्रीनिवासन अब छिट्टै फर्की हाल्छ भन्ने थियो होला । खैर, त्यसको एक–दुई दिनमा तारिक सरले बिहान ९ बजे तिर मलाई फोन गरेर उनको अफिसमा बोलाए र मैले लाइब्रेरिमा गर्दै गरेको कामको प्रगतिका बारेमा सोधे । मैले अहिले सम्मको अवधिमा लाइब्रेरिमा रहेका सबै पुस्तकहरुको शेल्फवाइज लिष्ट तयार गरेर निश्चित ठाउँमा टाँस्ने तथा राख्ने काम भैसकेको र अब अन्य कुनै प्रमुख कामहरु बाँकी नरहेको व्यहोरा जानकारी गराए । मेरो कुरा सुने पछि, उनले ओके त्यसो हो भने, भोली बाट श्रीनिवासन नफर्किदा सम्म तिमीले उसको ठाउँमा बसेर काम गर भनेर मलाई अराए । उनले मलाई यो विषयमा अरुकेही बोल्ने वा स्पष्ट पार्ने मौका सम्म पनि दिएनन् ।

लाइब्रेरिमा मैले गरेको कामलाई निजिक बाट नियाल्ने गरेका ती तारिक सरलाई म कुनै न कुनै प्राविधिक पृष्ठभूमि बाट आएको केटो हुनुपर्छ भन्ने लागेको थियो होला । तर साउदी आरामकोको त्यै जेद्दा रिफाइनरीमा छिरे पछिको चार–पाँच महिनाको अवधिमा जे जति देख्ने, जान्ने, बुझ्ने मौका पाएको थिए, त्यसको अलावा म संग कुनै प्राविधिक ज्ञान थिएन । २० वर्षको उमेरमै रोजीरोटीका खातिर परदेशीन विवश म फुच्चे केटोका लागि तारिक सरले दिएको त्यो नयाँ जिम्मेवारी सफलता पुर्वक वहन गर्न चुनौतीपूर्ण मात्र होइन लगभग असम्भव हुने मेरो अनुमान थियो । खैर, तारिक सरले श्रीनिवास नफर्किए सम्म तिमीले यहाँ काम गर्नु भनेको हुनाले, मैले आफुलाई अलिक सहज बनाए । र केही समयका लागि न हो भनेर भोली पल्टबाट नयाँ जिम्मेवारी वहन गर्ने मनमनै एउटा दरिलो अठोट गरे ।

म कम्प्युटरमा राम्रो थिएँ । वर्ड, एक्सेल शीटहरुमा काम गर्न म सिपालु भैसकेको थिएँ । ग्रामरमा अलि–अलि मार खाए पनि अग्रेजी बोल्न लेख्न मलाई कुनै समस्या थिएन । यो संगसंगै आसपासका साथीहरुको मार्ग निर्देशन, उनिहरुको म प्रतिको प्रेम, सद्भाव र आफुले रिपोर्ट गर्नु पर्ने आफ्नो बोसको आफू प्रतिको सहानुभुतिका कारण मेरा दैनिकीहरु मैले सुरुमा सोचे भन्दा सहजपूर्ण ढङ्गले नै बिते ।

म कम्प्युटरमा राम्रो थिएँ । वर्ड, एक्सेल शीटहरुमा काम गर्न म सिपालु भैसकेको थिएँ । ग्रामरमा अलि–अलि मार खाए पनि अग्रेजी बोल्न लेख्न मलाई कुनै समस्या थिएन । यो संगसंगै आसपासका साथीहरुको मार्ग निर्देशन, उनिहरुको म प्रतिको प्रेम, सद्भाव र आफुले रिपोर्ट गर्नु पर्ने आफ्नो बोसको आफू प्रतिको सहानुभुतिका कारण मेरा दैनिकीहरु मैले सुरुमा सोचे भन्दा सहजपूर्ण ढङ्गले नै बिते ।

जुङ्गाका रेखीहरु भर्खर देखिन सुरु गरेको म मान्छे उमेरले त त्यसै पनि सानो नै थिए, तर मेरो भौतिक शरीर पनि तुलनात्मक रूपमा सानो नै थियो । सानो केटो ठानेर पनि होला त्यहाँ म प्रति रिस, राग, द्वेष, ईष्या लगायतका भावहरु राख्ने कोही पनि थिएनन् । सबैले मलाई माया नै गर्थे ।

पछि तारिक सरले मसंग प्राविधिक ज्ञान नभएको भन्ने कुरालाई नथाहापाएका भने हैनन्, तर उनि लगायत अन्य अफिसरहरुको निर्देशनमा जुन कुशलताका साथ म पेपर वर्क गरेर दिन्थे, उनीहरूको न्यूनतम आवश्यकताहरू पूरा गर्न म सफल भएको थिए । सुरुका दिनहरुमा म बाट हुनेगरेका सामान्य कमजोरिहरुलाई लिएर उनिहरुले मेरो कम्पनी संग सिकायत गर्ने कुरा पनि भएन, किन भने उनिहरुको आफ्नै पहलमा मलाई त्यो ठाउँमा लगेर राखिएको थियो ।

यसरिनै दिनहरु बित्तै गए । आकस्मिक बिदामा घर गएका, मैले काम गर्दै गरेको ठाउँमा काम गर्ने इन्जिनियर श्रीनिवासन फर्केर आएनन् । पछिल्ला दिनहरुमा मैले पनि आफुलाई सकेसम्म अपग्रेड गर्दै लगे । फरक–फरक कामहरू संग सम्बन्धित स्कोप अफ वर्क, स्पेसिफिकेशन, बिओक्युहरु प्रिन्ट गरेर रुममा लगेर पनि अध्ययन गर्न थाले । नजानेका शब्दहरु डिक्स्नेरीमा खोजेर हेर्ने÷नोट गर्ने गर्न थाले ।

मैले त्यो ठाउँमा बसेर हाम्रो कम्पनीको कन्ट्र्याक्ट नसक्युन्जेल झण्डै तीन वर्ष जति काम गर्ने मौका पाए । त्यो समयको दौरान, मलाई खास गरेर मेरो भागमा परेको फिल्ड वर्क (जुन मलाई ज्ञान थिएन) गर्न सहयोग गरिदिने र उनिहरुको पेपर वर्क मालाई गर्न लगाउने इन्जिनियर अल्लुरि, रियाज, इस्माइल लगातका साथीहरुको याद आज पनि यो मनमा उत्तिकै ताजा भएर आउने गर्दछ ।

भद्रपुर–झापा (हाल दोहा–कतार)

dhakalrp@gmail.com

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस